३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुनेछ।

१० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले जिल्ला सदरमुकाममा राखिएको छ।

‘मतगणना गरिने स्थानमा राखिएकाले यताको समय सकिनासाथ मतगणना सुरु हुन्छ,’ ढकालले भने, ‘त्यसका लागि आयोगले सबै तयारी गरिसकेको छ।’

सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधि पनि पालैपालो निगरानी गरिरहेका छन्।

साता दिनभित्र परिणाम आउँछ

ढकालले साता दिनभित्र प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसक्ने बताए।

‘समानुपातिकका लागि केही समय लाग्छ, प्रत्यक्षको परिणाम भने हप्ता दिनभित्र आइसक्छ,’उनले भने। दुई चरणमा गरी यसपालि १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा सदस्यका लागि चुनाव हुँदै छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.