तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

१५ बैशाख ८१, आइतबार

१६ वैशाख , काठमाण्डौ ।
विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईकाधेरै स्थानको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Advertisement

आगामी चार दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’ सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । विभागकाअनुसार तराई–मधेसमा वैशाख २० सम्मै तातो हावा चल्ने सम्भावना छ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ।

Advertisement

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम साधारणतया सफा रहेको छ।

आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Advertisement

लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top