२८ वैशाख, विराटनगर ।
मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । सुधार तथा उपचारका लागि सुधार केन्द्रमा राखिएकाहरु शुक्रबार बिहान ६ः१५ बजेतिर भागेका हुन् । घटनाका बारेमा प्रहरीले बिहान १० बजेतिर मात्रै खबर पाएको थियो । प्रहरीलाई समयमै खबर नहुनुले घटना गुपचुप राख्न खोजेको हुनसक्ने आशंका गरिएको छ ।
लागूऔषधलगायतको दुव्र्यसनमा फसेकाहरुलाई सुधार्न तथा उपचारका लागि केन्द्रमा राख्ने गरिएको थियो । केन्द्रको ताला खोलेर लेटाङ–५ का दिलसन तामाङ, पालदेन तामाङ, लेटाङ–६ का अनिल गौतम, लेटाङ–८ का मदन कार्की, विशाल कार्की, कानेपोखरी गाउँपालिका–७ सरोज लिम्बू र केराबारी गाउँपालिका–१० का अनुप परियार फरार भएका हुन् ।
फरार भएकामध्ये दिलसनलाई २०८० माघ १५, अनिललाई फागुन १५, मदनलाई फागुन २६, विशाललाई माघ १८, सरोजलाई माघ २९, अनुपलाई असोज ११ गते र पालदेनलाई गत वैशाख १४ गतेदेखि सुधार केन्द्रमा राखिएको थियो । प्रहरीका अनुसार सुधार केन्द्रको नियमित रेखदेख र व्यवस्थापनमा देखिएको लापरबाहीले त्यहाँ राखिएकाहरु फरार भएको पाइएको छ ।
सुधार्नका लागि भनेर राखिएकाहरुलाई नै सुधार केन्द्रको तालाचाबी जिम्मा लगाउने गरिएको प्रहरीको भनाइ छ । लागूऔषधलगायतको दुव्र्यसनमा फसेकाहरुलाई केही समयदेखि सुधारका लागि राखिएको र एक्कासि उनीहरु फरार भएको सुधार केन्द्रका सञ्चालक रेवत राईले बताएका छन् । उनका अनुसार भागेकामध्ये केही सुधारको समयावधि पुगेकाहरु पनि छन् ।
अभिभावक, परिवारका सदस्य र प्रहरीलाई जानकारी गराएर फरार भएकाहरुको खोजी तीव्र पारिए पनि फेला पार्न नसकिएको उनले बताए । भागेकाको खोजीका लागि इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर भीमलाल ओलीको नेतृत्वमा पनि टोली खटिएको छ । केन्द्रका सञ्चालक राईका अनुसार खोजी गर्दा पनि फरार भएकाहरु नभेटिएपछि प्रहरीलाई घटनाको जानकारी गराइएको हो । उनका अनुुसार केन्द्रमा १८ जनालाई राखिएकोमा ७ जना फरार भएपछि ११ जना मात्रै बाँकी छन् ।