बालेनलाई योगेशको चेतावनी,साइबर ग्याङको भर नपर्नु

२२ जेठ ८१, मंगलबार
Share this
730shares

२२ जेठ,काठमाण्डौ ।

Advertisement

नेकपा एमालेले गिरीबन्धु टी स्टेट प्रकरणलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेपाली कांग्रेसलाई चेतावनी दिएको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिएका छन् । उनले हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए ।

उनले भने, ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ। काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो। अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ । सरकारले दिन्छ । प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला। काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस् । तर, उत्तेजना फैलाएर हुँदैन। तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका हुन् । तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ।’

Advertisement

उनले नेताहरू जेल बसेको कुरालाई मजाकमा उडाएको भन्दै असन्तुष्टि पोखे । देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्न आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताए । मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए ।

उनको यो स्टाटस आएपछि सिंगो एमाले र अध्यक्ष केपीओली समेत आक्रोषित बनेका छन् । ओलीको आक्रोस सोमबार संसद बाहिर पनि देखिएको थियो । सोमबार ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (मेयर)सँग सोध्न भनेका थिए ।यता योगेशले झापामा रहेको गिरिबन्धु– टि स्टेट प्रकरणमा नियोजित ढंगले कांग्रेसले मुद्दा उठाउन खोजेको आरोप लगाए ।

Advertisement

गिरिबन्धु टी स्टेटको विषयलाई उठाएर कांग्रेसले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले षडयन्त्र गरेको भट्टराईले बताए । नेपाल कांग्रेसले गिरिबन्धु टि स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिनको माग गर्दै आएको छ । नेता भट्टराईले जुनसुकै कालखण्डका विषयमा छानबिन गर्न एमाले तयार रहेको जिकिर गरे ।

’आज गिरिबन्धुको कुरा उठाइएको। यसमा हामीलाई केही आपत्ती छैन। सर्वोच्च अदालतको आदेशअनुसार संसदले कानुन बनायो। कानुन कार्यान्वयनका क्रममा भएका कमीकमजोरीलाई अदालतले केही कुरा औंल्याएको छ। त्यस कुराको हामी सम्मान गर्छौं,’उनले भने,’ हाम्रो पार्टीमाथि, हाम्रो अध्यक्षमाथि नियोजित ढंगले हस्तक्षेप, प्रचार गर्ने, आरोप लगाउने खालको जुन खालका षडयन्त्र भएका छन्।

उनले भनेका छन्, बालनजीलाई म भन्न चाहन्छु तपाईको आमा पवित्र हुनुहुन्छ, तपाईको आमाप्रति शंका नगर्नुस तर तपाईँका गतिविधिले आफ्नै आमाको अस्तित्वमाथि बारम्बार तपाई नङ्ग्याउँदै हुनुहुन्छ, प्रश्न उठाउँदै हुनुहुन्छ भने यो समाजलाई तपाई कता लाँदै हुनुहुन्छ ? तपाई काठमाडौँ महानगरको प्रमुख हो नभुल्न अनुरोध गर्दछु । हरेक व्यक्तिका आफ्ना सीमा छन्, अधिकार छन्, कानुनले अधिकार दिएको छ, कानुनले सीमा तोकेको छ, त्यो सीमा र अधिकारभित्र हामी बस्नुपर्दछ । नेताहरूलाई गाली गलौच गर्नु, आफ्ना अभिभावक जस्ता नेता, यो देशको लोकतन्त्र र गणतन्त्र ल्याउन लडेका नेकपा एमालेका नेतृत्वमाथि गालीगलौज गर्नु आफैले आकाशतिर फर्किएर थुकेपछि त्यो कहाँ झर्छ भन्ने कुरा बालेनजीलाई थाहा हुनुपर्छ । आज मैले यो बोलिरहँदा बालेनजीका साइबर ग्याङले हामीलाई लखेट्न खोज्लान् तर त्यसबाट हामीले डराउनुपर्ने छैन । साइबर ग्याङले राजनीतिलाई थाम्न सक्दैन, त्यो क्षणिक हुन्छ, उत्तेजनामा हुन्छ, मनोरञ्जनको रूपमा हुन्छ । राजनीतिलाई दिगो बनाउन साइबर ग्याङबाट टिक्न सकिँदैन । त्यो कुरा हामीले दुनियाँका धेरै उदाहरणबाट हामीले देखेका छौँ ।

एमालेका सचिव समेत रहेका भट्टराईले सो क्रममा कांग्रेसका महामन्त्री गगन थापालाई पनि चुनौती दिएका छन् । थापाले गएको आइतबारको प्रतिनिधिसभा बैठकमा बोलेको विषयतर्फ लक्षित गर्दै भने म भन्न चाहन्छु २०४६ सालपछि अथवा अगाडि कुनकुन बेलाको छानबिन गर्नुपर्ने हो।

एनसेलको गर्ने हो कि ,टेरामेक्सको गर्ने हो कि, बालुवाटार जग्गाको गर्ने हो। कहाँ कहाँको गर्ने हो। प्रत्येक छानबिनका लागि नेकपा एमाले तयार छ’ । एमाले सचिव भट्टराईले एमाले कसैमाथि पनि गलत ढंगले टिप्पणी नगर्ने पार्टी रहेको बताए । उनले भने,’नेकपा एमाले नै त्यो पार्टी हो जसले आज अदालत भ्रष्टाचारको आरोप लागेर बयान दिन जानुपरेको छैन। अख्तियारमा बयान जानुपरेको छैन। पार्टीको केन्द्रीय समितिमा दायाँबायाँ पनि दाग लागेका मान्छेलाई राखेर बैठक गर्नुपर्ने पनि छैन। एमाले कसैमाथि पनि गलत ढंगले टिप्पणी गर्न चाहन्न।’

गिरीबन्धु टी–स्टेटको करिब ३४४ बिघा जग्गा सट्टापट्टा तथा बिक्रीको बाटो खुलाउने गरी मन्त्रिपरिषद्बाट निर्णय हुँदा ओली प्रधानमन्त्री थिए । उक्त निर्णयअघि नै जग्गा बैनाको विषय सार्वजनिक भएपछि ओलीमाथि भ्रष्टाचारको आरोप लगाइएको छ । यस विषयमा सर्वाेच्चले बैना फिर्तागरी गिरीबन्धुको जग्गा सरकारको नाममा फिर्ता ल्याउन भनेको छ ।

गएको आइतबारको बैठकमा कांग्रेस सांसद गगन थापाले भ्रष्टाचारमा सत्तारूढ दलहरूको भूमिकाका कस्तो रहन्छ ? भन्दै प्रश्न गरेका थिए । उनले गिरीबन्धु भ्रष्टाचारमा रास्वपा बोल्छ कि बोल्दैन ? सहकारी ठगीमा एमाले बोल्छ कि बोल्दैन ? भन्दै प्रश्न गरेका थिए । कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले त एमाले र रास्वपातर्फ लक्षित गर्दै सहकारीबन्धु ठग गठबन्धन भन्दै टिप्पणी गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top