११ असार , एजेन्सी ।
उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १–१ अंक हात पारे । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि आवश्यक गोल भने गर्न सकेन ।
ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको सहयोग लिँदै गोललाई मान्यता दिएनन् । त्यसपछि ब्राजिलले लगातार आक्रमण बुनेपनि गोल गर्न भने सकेन । दोस्रो हाफमा थप आक्रामक देखिएको ब्राजिलले पटक पटक कोस्टारिकाको डिफेन्सलाई समस्या दियो ।
लुकास पाक्वेटाको प्रहारमा पोस्ट बाधक बन्दा ब्राजिल अग्रता लिनबाट बन्चित भएको थियो । त्यसअघि समूह डी कै खेलमा कोलोम्बियाले पाराग्वेलाई २–१ ले हरायो । कोलोम्बियाले पहिलो हाफमै ड्यानीएल मुनोज र जेफर्सन लार्माको गोलमा २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा जुलिओ एन्सिजोले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।
समूहमा कोलोम्बियाको ३ अंक भएको छ । ब्राजिल र कोस्टारिकाको १–१ अंक तथा पाराग्वे विना अंक पुछारमा छ । कोपा अमेरिका अन्तर्गत बुधबार समूह ए मा पेरुले क्यानडा तथा चिलीले अर्जेन्टिनाको सामना गर्नेछ । यता साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १–१ गोलको बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो । क्रोएसियाका लागि लुका मोड्रीचले गोल गरे । इटालीका माटिया जाकाग्नीले गोल गरे । बराबरीसँगै सूमह ’बी’ मा इटालीको तीन खेलमा चार अङ्क भएको छ ।
क्रोएसियाको भने तीन खेलमा दुई अङ्क छ । अल्बानिया भने एक अङ्कसहित समूहको पुछारमा छ । यस्तै गएराति नै भएको अर्को खेलमा स्पनेले अल्बानियालाई १–० गोलले हरायो । स्पेनका फेरन टोरेसले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । एक खेल पनि नहारेको स्पेन समूहको शीर्ष स्थानमा छ ।