विराटनगर : तेस्रो संविधान दिवशको अवसर पारेर प्रदेश १ मा तीन दिन दीपावलीसहित उत्सव मनाउने प्रदेश सरकारले तयारी गरेको छ ।
मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ५ सय १ सदस्यीय समिती गठन गरी प्रदेश सरकारले मंगलबार देखि तीन दिन संविधान दिवसको अवसरमा दीपावलीसहित उत्सव मनाउने तयारी गरेको हो ।\
प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलन गरी संविधान दिवसको अवसरमा घर– घरमा दीपावली गर्न सबैलाई आग्रह गरेको छ ।
बुधबार संविधान दिवस हो । प्रदेश सरकारले मंगलबार नै सबै सरकारी कार्यालयहरुमा सरसफाई गरी राष्ट्रिय झण्डा राख्ने र दीपावली गर्ने तथा जनचेतनामुलक कार्यक्रम गर्नेछ ।
संविधान दिवसको अवसरमा असोज ३ गते सुर्योदय हुनासाथ प्रदेश प्रहरीले बिगुल बजाउने, विभिन्न स्थानमा सुचनामुलक कार्यक्रम गर्ने, बिहान ७ः ३० बजे विराटनगरको सहिद मैदानमा कार्यक्रमको आयोजना गर्ने तयारी छ ।
कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत विशिष्ट ब्यक्तिहरुको सहभागिता रहने जनाईएको कार्यक्रममा सम्पुर्ण क्षेत्रका मानिसलाई स्वतस्र्फुत रुपमा सहभागी हुन आग्रह गरिएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।