२२ असार, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिएका थिए ।
सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।
उनको उपचारका क्रममा ज्यान गएको हो । घटनाको थप अनुसन्धान भइरहेको र शव पोस्टमाटर्मका लागि टिचिङ अस्पताल महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने बताइएको छ । सरकारले पूर्व प्रधानमन्त्रीहरूलाई ’सुरक्ष थ्रेट’ का आधारमा सशस्त्र प्रहरीको इन्स्पेक्टर र सई नेतृत्वमा टोली खटाउने गरेको छ ।