२३ असार, काठमाण्डौ।
प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले–कांग्रेस मिल्दै केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्नै लागेका बेला शेखर कोइराला समूहले सक्रियता बढाएको छ । यसले एमालेलाई त शसंकित बनाएको छ नै नेपाली कांग्रेसभित्रै पनि देउवा समूह झस्किएको छ । सोही कारण काँग्रेसको संसदीय दलको बैठक बसेर अब बन्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमै गठन हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
शनिवार पार्टी संसदीय दलको बैठकले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले हतार हतार यस्तो निर्णय गराएका हुन् । तर, यो निर्णयबाट कांग्रेसभित्र पछिल्लो समय फरक राजनीतिक समीकरण निर्माणको प्रयासमा जुटेको कोइराला समूह भने सन्तुष्ट छैन ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै संविधानको धारा ७६(२) अनुसार नै एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । ‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको र त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने उल्लेख गर्दै उनले बाँकी कुराहरुले खासै असर नपार्ने बताए ।
उनले कांगे्रेस र एमाले मिलेर बनाउन लागेको नयाँ सरकारको पक्षमा दुईतिहाईभन्दा बढी मत जुटेको समेत दाबी गरे । बैठकले संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरुको समीक्षा गरेर संविधानलाई समसामुहिक रुपले संशोधन, परिमार्जन गर्ने, संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रतात्क शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने कुराको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले पुनः प्रतिबद्धता व्यक्त गरेको छ । तर यसबीच शेखर र प्रचण्डबीचको भेटवार्ताले एमाले–काँग्रेस दुवैलाई झस्काएको हो । यसैकारण एमालेले आज पनि प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेको छ ।
आज बसेको संसदीय दल बैठकबाट एमालेले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो । ‘प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेका छौं। हाम्रो पहिलो माग प्रधानमन्त्रीले आजै, अहिले भर्खर राजीनामा दिनुपर्छ भन्ने हो,’ प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ।’
उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि एमालेले माग गरेको बताए । ‘सरकार अल्पमतमा परे पनि विभिन्न निर्णय गरिरहेको छ, यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन,’ उनले भने, ‘सरकारलाई कुनै पनि निर्णय नलिन पनि हाम्रो बैठकले सचेत गराएको छ।’ यता प्रधानमन्त्री दाहालले भने पदबाट राजीनामा नदिने बरू संसद फेस गर्ने बताइरहेका छन्। असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।