२४ असार , एजेन्सी ।

चिनियाँ वैज्ञानिकहरूले हाइपरसोनिक हतियारको दौडलाई गति दिन सक्ने राडार प्रविधिमा सफलता हासिल गरेको दाबी गरेका छन्। चिनियाँ वैज्ञानिकहरूको टोलीले म्याच २० को गतिमा आउने १० हाइपरसोनिक मिसाइललाई ट्र्याक गर्न सक्ने रडार बनाएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। यसका साथै यसले झूटा लक्ष्यहरू पनि पहिचान गर्न सक्ने दाबी गरिएको छ ।

परियोजनामा काम गर्ने टोलीको नेतृत्व सिङ्हुआ विश्वविद्यालयको इलेक्ट्रोनिक इन्जिनियरिङ विभागका प्राध्यापक झेङ सियाओपिङले गरेका थिए। वैज्ञानिकहरूको टोलीलाई उद्धृत गर्दै पोष्टले ग्राउन्ड सिमुलेशनका क्रममा ७ किलोमिटर प्रति सेकेन्डको गतिमा प्रहार गर्ने क्षेप्यास्त्रको गति अनुमान गर्न ९९.७ प्रतिशत सही रहेको जनाएको छ । जबकि मिसाइलको दूरी अनुमान गर्दा २८ सेन्टिमिटरको त्रुटि देखियो ।

टोलीले भनेको छ , यो एक उपलब्धि हो जुन पहिले असम्भव मानिएको थियो। सटीकताका साथ रडार संकेतहरू उत्पन्न र विश्लेषण गर्न इलेक्ट्रोनहरूलाई अत्यन्त उच्च गतिमा सार्न आवश्यक छ, जसले सम्भावित रूपमा सर्किट बोर्डहरू जलाउन सक्छ। झेङको टोलीले राडारमा लेजरहरू समावेश गरेर नयाँ प्रयोग सञ्चालन गरेको थियो । जसले मुख्य नोडहरू बीचको सूचना प्रसारणलाई प्रकाशको गतिमा पुग्न अनुमति दिएको थियो ।

यसबाट नतिजा यो आयो कि राडार प्रणालीले पहिले भन्दा धेरै जटिल माइक्रोवेभ संकेतहरू उत्पन्न गर्न र प्रशोधन गर्न सक्यो । यसले अल्ट्रा–हाइ–स्पीड वस्तुहरूको सही मापन गर्दछ। यो नयाँ माइक्रोवेभ फोटोनिक राडारले ६०० किलोमिटरभन्दा बढीको पत्ता लगाउने दायरा दाबी गरेको गुआङ्सी विश्वविद्यालयका झेङ र उनका सहकर्मीहरूले एउटा समीक्षा पत्रमा भनेका छन्।

यो मे २४ मा चिनियाँ भाषाको जर्नल अप्टिकल कम्युनिकेशन टेक्नोलोजीमा प्रकाशित भएको थियो। माइक्रोवेभ फोटोनिक रडार सानो र हल्का छ, यसले वायु–रक्षा मिसाइल वा विमानमा लोड गर्न उपयुक्त बनाउने भनिएको छ । यसलाई केही सैन्य विज्ञहरूले अर्को पुस्ताको आगो नियन्त्रण राडारको लागि प्रमुख प्रविधि भनेर विश्लेषण गरेका छन् ।

Scroll to Top