एजेन्सी, असोज ३
एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको समूह ‘ए’ को खेलमा भारतले हङकङलाई २६ रनले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको छ ।
टस जितेर पहिलो फिल्डीङ रोजेको हङकङविरुद्ध भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो । भारतले दिएको २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ५० ओभरमा हङकङले ८ विकेटको क्षतिमा २ सय ५९ रनमात्र जोड्न सक्यो ।
भारतका लागि शिखर धवनले १ सय २७ तथा अम्बाती रायुडूले ६० रनको योगदान दिएका थिए । यी दुई ब्याट्सम्यान मिलेर दोस्रो विकेटका लागि १ सय १६ रनको साझेदारी गरे ।
धवनले १ सय २० बलको सामना गर्दै १५ चौका र २ छक्का प्राहर गर्दा रायुडूले ७० बलमा ३ चौका र २ छक्का नै हाने । भारतका लागि रोहित शर्माले २३, दिनेश कार्तिकले ३३ तथा केदार जाधवले अविजित २८ रनको योगदान दिए । हङकङका लागि किन्चित साहले ३ , एहसान खानले २ तथा एहसान नवाज र एजाज खानले १–१ विकेट हात पारे ।
जवाफमा ब्याटिङमा आएको हङकङले ओपनरद्वय निजाकत खान र कप्तान अन्शुमन रथबाट उत्कृष्ट सुरुआत पायो । ३५ औं ओभरमा अन्शुमन आउट हुनुअघि प्रारम्भिक जोडीले १ सय ७४ रनको कीर्तिमानी साझेदारी गरेको थियो ।
अंशुमनले कुलदिप यादवको बलमा क्याचआउट हुनुअघि ९७ बलमा ४ चौका र १ छक्कासहित ७३ रन जोडे । अर्का ओपनर निजाकत लगत्तै ओभरमा आउट भएका थिए । उनले १ सय १५ बलको सामना गर्दै ९२ रन जोडे । यसक्रममा निजाकतले १२ चौका र १ छक्का प्रहार गरेका थिए ।
राम्रो सुरुआत पाएपनि मध्यक्रममा आक्रामक ब्याटिङको खाँचो पार्दा अन्य खेलाडी चलन नसक्दा हङकङ लक्ष्यभन्दा केहि टाढा रहयो । हङकङका बाबर हायात १८, किन्चित साह १७, एहसान खान २२ र तनवीर अफजलले १२ रनको योगदान दिए ।भारतका लागि डेब्यु गरिरहेका खलिल अहमद र युज्भेन्द्र चहलले ३ विकेट तथा कुलदिप यादवले २ विकेट हात पारे ।
यस समूहबाट भारत र पाकिस्तान अर्को चरणमा प्रवेश गरेका छन् । हङकङको यात्रा भने समूह चरणमा नै सिमित भएको छ । अब समूहको अन्तिम खेलमा भारत र पाकिस्तान खेल्नेछन् । अर्को समूहबाट बंगलादेश र अफगानिस्तान दोस्रो चरण प्रवेश गरेका छन् । दुवै खेल हारेको श्रीलंका बाहिरिसकेको छ ।