२९ साउन, विराटनगर । भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्नखोज्ने दुई बंगलादेशी नागरिकलाई फिर्ता पठाइएको छ ।
मंगलबार दिउँसो विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका एक पुरुष र एक जना वृद्धा महिलालाई प्रहरीले फिर्ता पठाएको हो ।
बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई भारततिर नै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्नेक्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने पासपोर्ट फेला परेको थियो ।
विराटनगरको रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको यो दोस्रो घटना हो । यसअघि नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो ।
बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।