३ भदौ, काठमाडौं ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे ।
उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ। कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदै छ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।’
राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए ।
‘सात–आठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठुला दुई दल मिलेका छौँ, यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ । अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ ।’ उनले भने ।