३ भदौ, विराटनगर ।
अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी फ्रेन्च क्लब पिएसजी छोडेर अमेरिका आएपछि मेजर लिग सकरको टिकट बिक्रीदर आकासिएको थियो ।
विश्वकप विजेता मेसीको आगमनले गर्दा टिकट बिक्री हुने दर उकालो लागेको थियो भने स्टेडियमहरू भरिभराउ देखिन्थे । मेसीले खेल्ने खेल त झन् अग्रिम रूपमा बुक हुन्थे ।
मेसीको पहिलो सिजन इन्टर मियामीको मैदान प्रवेशका लागि टिकटै नपाउने अवस्था पनि बन्यो । इन्टर मायामीको चेस स्टेडियमको नियमित सिजनको बाँकी लगभग सबै खेलको टिकट बिक्री भयो र टिकटको मागले पुनर्बिक्री मूल्य पनि अत्यधिक उच्च स्तरमा पुग्यो ।
तर, पछिल्ला ११ खेलमा मेसी अनुपस्थित रहँदा टिकट बिक्रीदर पनि घटिरहेको छ । मेस्सीको अनुपस्थितिले एमएलएस टिकट बिक्रीमा उल्लेखनीय प्रभाव पारेको हो ।
अर्जेन्टिनी स्टारलाई कार्यमा देख्न नसकिने भएकाले, जोर्डी अल्बा, सर्जियो बुस्केट्स र लुइस सुआरेज जस्ता अन्य स्टारहरू भए पनि इन्टर मायामीका खेलहरूमा, घरेलु र बाहिरी दुवैमा, दर्शक संख्यामा उल्लेखनीय गिरावट आएको छ ।
यतिसम्म कि, अहिले एमएलएसआबद्ध क्लब शिकागो फायरले ३० डलरको छुटमा आफ्ना टिकटहरू बिक्रीमा राख्नुपरेको छ ।
शिकागो फायर र इन्टर मायामीबीचको खेल नेपाली समयानुसार शनिबार बिहान ६:१५ बजे निर्धारित छ ।
मेस्सीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको छ । तथापि, उनी पूर्ण प्रशिक्षणमा फर्किएका छैनन् । फिट भई शिकागोविरुद्ध खेल्न उपलब्ध हुन उनीसँग करिब दुई हप्ताको समय छ ।
चोटका कारण उनी लामो समययता मैदानबाहिर छन् । अर्जेन्टिनाका कप्तान मेस्सी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।
कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेस्सी कोपा अमेरिका सकिएपछि इन्टर मियामीमा फर्किएका छैनन् ।
मेस्सीको अनुपस्थितिले क्लबलाई निकै अप्ठ्यारो परिरहेको इन्टर मियामीका प्रशिक्षक गेरार्डो ‘टाटा’ मार्टिनो बताउँछन् ।
३७ वर्षीय मेस्सीको अभाव मेजर सकर लिगतिर पनि खड्किएको छ । किनकि, अघिल्लो सिजन १४औं स्थानमा सीमित बनेको मियामी यो सिजन उपाधि जित्ने अभियानमा छ ।