६ भदौ, विराटनगर ।
गत महिना सम्पन्न युरोकप फुटबल प्रतियोगितापछि जर्मनीका खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलबाट धमाधम सन्न्यासको घोषणा गरिरहेका छन् । स्ट्राइकर थोमस मुलर, मिडफिल्डरद्वय टोनी क्रुस र इल्के गुन्डोगानले सन्न्यासको घोषणा गरेका थिए ।
पछिल्लोपटक भने जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नुयर पनि अन्तर्राष्ट्रिय खेलबाट अलग भएका छन् । युरोकपपछि सन्न्यास लिने नुयर जर्मनीको चौथो खेलाडी हुन् ।
बुधबार एक भिडियो सन्देस जारी गरेर उनले यो निर्णय गर्न आफूलाई निकै कठिन भएको बताँउदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरे ।
उनले २०२६ को फिफा विश्वकपका लागि आफू खेल्ने विचार गरेको भए पनि आफूले यो नै सही समय भएको ठानेर सन्न्यास लिएको भिडियोमा उल्लेख गरेका छन् ।
अब जर्मन क्लब बायर्न म्युनिखका लागि केन्द्रित हुने उनको योजना छ । आफू २०२३ सम्म जर्मनीको कप्तानी गर्न पाएकोमा सम्मानित महसुस गरेको उनले बताए ।
नुयर जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए । ३८ वर्षीय नुयले जर्मनीका लागि २००९ मा डेभ्यु गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् ।