एजेन्सी,असोज ४
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले अग्रता लिने सुरुवाती मौका गुमाएको थियो ।
खेलको २९ औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडी( भ्यालेन्सियाका डिफेन्डर मुरि)लाई हात लगाएको आरोपमा २९ हौं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए ।
रोनाल्डोको प्रस्थानपछि केहि दबाब परेपनि युभेन्टसले रक्षात्मक रुपमा भने खेल बलियो बनाइरहेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा भ्यालेन्सिया कप्तान ड्यानी परेहोले डिफेन्डर जोआओ क्यान्सेलोलाई पेनाल्टी क्षेत्रभित्र लडाए पछि रेफ्रिले पेनाल्टी दिए । मिरालेम प्यानिचले त्यसमा सहजै गोल गरे ।
दोस्रो हाफमा पनि युभेन्टसले पेनाल्टी पायो र प्यानिचले त्यसमा पनि कुनै गल्ती नगरी टोलीलाई २–० को अग्रता दिलाए । यता भ्यालेन्सियाले खेलको अन्तिम समयमा पाएको पेनाल्टी भने कप्तान परेहोले गोल गर्न सकेनन् ।
खेलमा रातो कार्ड पाएका रोनाल्डो अर्को खेलमा पनि उपलब्ध हुने छैनन् । तर क्लबले यूईएफए समक्ष अपिल गर्ने सम्भावना पनि छ ।