फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो

काठमाडौँ, असोज ४
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।आज सार्वजनिक फिफा वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ ।

गत महीना १६१औँ स्थानमा रहेको नेपालको बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा वरियतामा सुधार आएको हो ।फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ ।

नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७आँै र १५१औँ स्थानमा रहेका छन् । नेपाल भन्दा पछि भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ १९३, १९९ र १९९औँ स्थानमा छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । दुवै टोलीको १७२९ नम्बर रहेको छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा उरुग्वे रहेको छ ।

त्यस्तै इङ्ग्ल्याण्ड छैटौंँ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.