एजेन्सी,असोज ६
एसिया कप क्रिकेटको ‘सुपर फोर’ अन्तर्गत भएका खेलमा भारत र पाकिस्तान विजयी भएका छन् । भारतले बंगलादेशलाई र पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेका हुन् ।
भारतले बंगलादेशलाई ७ विकेटले हराएको छ । टस हारेपछि पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १७३ रन बनाएको थियो । १७४ रनको विजयी लक्ष्य भारतले तीन विकेट गुमाउँदै ३६ दशमलव २ ओभरमै पुरा र्गयो । रोहित शर्माले कप्तानी पारी खेल्दै नटआउट ८३ रन बनाए ।
त्यस्तै ओपनर शिखर धवनले ४७ बलमा ४० रनको योगदान दिए । बंगलादेशका लागि शकिब अल हसन, रुबेल हुसेन तथा मसरफे मोर्तजाले समान एक–एक विकेट लिए । एसिया कपमा भारतले भोलि पाकिस्तानसँग खेल्नेछ ।
यसैगरी एसिया कप क्रिकेटको ‘सुपर फोर’अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको छ । अफगानिस्तानले दिएको २५८ रनको विजयी लक्ष्य पाकिस्तानले ३ बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा ग¥यो ।
पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ८० रन बनाए । त्यस्तै बाबर आजमले ६६ रन बनाउँदा शोएब मलिकले ५१ रनको उत्कृष्ट पारी खेले । अफगानिस्तानका लागि राशिद खानले तीन विकेट लिए । यसअघि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै अफगानिस्तानले २५७ रन बनाएको थियो । अफगानिस्तानले भोलि नै बंगलादेशसँग खेल्नेछ ।