काठमाडौँ,असोज ६
प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार राति अमेरिकातर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।
टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।
त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारीलाई पनि भ्रमण टोलीमा समेटिएको छ ।
‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ असोज २ गतेबाट ७३ औं महासभा शुरु भइसकेको छ ।
प्रधानमन्त्री ओलीले असोज ११ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।