२८ भदौ, विराटनगर ।
आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने नेपाल प्रिमियर लिगका लागि मार्की खेलाडी सार्वजनिक भएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले एनपिएलका लागि मार्की खेलाडी सार्वजनिक गरेको हो ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण के.सी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ल मार्की खेलाडी रहनेछन् ।
यी खेलाडीमा आबद्ध हुने टोली भने टुंगो लगाइएको छैन । एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन् ।
अब आठ टोलीमा उल्लेखित खेलाडीमध्येबाट एक-एक जना आफ्नो टोलीमा आबद्ध गर्नेछन् ।
क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो । तर उक्त लिग खेल मिलेमतो र आर्थिक अनियमितिता लगायत विषयमा विवादित बनेपछि क्यानले त्यसलाई रद्द गरेर आफैं एनपिएल आयोजना गर्ने निर्णय गरेको हो ।