२९ भदौ, काठमाडौं । 

नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरी र नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीबीच सामाजिक सञ्जाल फेसबुकमा दोहोरी चलेको छ । दुई चौधरीबीच मेटमणिले दिएको विवादित अभिव्यक्तिलाई लिएर फेसबुकमा भनाभन चलेको हो ।

मेटमणिले एक टेलिभिजन अन्तर्वार्तामा ‘देशविरोधी’ अभिव्यक्ति दिएको भन्दै शान्ताले उनलाई कारबाही हुनुपर्ने माग राखेकी छन् ।

केही दिनअघि टीभी अन्तर्वार्ताका क्रममा मेटमणिले नेपालको नक्सामा समेटिएका लिम्पियाधुरा, कालापानी, लिपुपलेकमा भारतको अधिकार भएको भनेपछि उनको आलोचना भइरहेको छ ।

आफूले पनि त्यस्तो बोल्न नहुने भन्दा मेटमणिले आफूलाई ‘अचारवाली’ भनेर अपमान गरेको गुनासो शान्ताले गरेकी छन् ।

‘जो चोर उसैको ठूलो स्वर भनेजस्तो मेटमणिजी मेरो बदख्वाइँ गर्न लाग्नुभएछ। कालापानी भारतको हो भन्दै टेलेभिजनमा बोल्ने मेटमणिलाई त्यस्तो बोल्नु राम्रो होइनभन्दा मलाइ अचारवाली भनेर तुच्छ वचन बोल्नुभएछ’, शान्ताले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

उनले थपेकी छन्, ‘महिला उद्यमीहरूप्रतिको उहाँको धारणा कति दुर्गन्धित रहेछ । म एउटा राजनीति गर्ने मान्छे स्वाभिमानयुक्त राजनीतिको लागि उद्यमशीलता आवश्यक छ भनेर लागेको छु । विदेशीको दलाली गरेर देशको सार्वभौमिकताप्रति खेदो खन्ने काम मैले गरेको छैन । कि तपाईंजस्तै विदेशी कुँडो खाएर देशविरुद्ध बोल्दै हिँड्नु माननीयज्यू ? देशविरोधी तपाईंका अभिव्यक्तिप्रति तपाईंलाई कारबाही हुनुपर्छ ।’

Scroll to Top