१ कार्तिक , एजेन्सी ।
दक्षिण अफ्रिकाका पावर हिटर हेनरिक क्लासेनलाई इन्डिन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज सनराइजर्स हैदरावादले रिटेन गर्ने खेलाडीको सूचीमा सबैभन्दा अगाडि राखेको छ । ईएसपीएन क्रिकइन्फोका अनुसार उनलाई २३ करोड भारुमा पहिलो खेलाडीको रूपमा रिटेन गरिने भएको छ ।
हैदरावादले अस्ट्रेलियाका अलराउन्डर र कप्तान प्याट कमिन्सलाई १८ करोड र भारतीय अलराउन्डर अभिषेक शर्मालाई १४ करोडमा रिटेन गर्ने छ । हैदरावादले ट्राभिस हेड र नितिशकुमार रेड्डीलाई पनि राख्ने योजना बनाएको छ ।
आईपीएल कायम राख्नको लागि अन्तिम मिति अक्टोबर ३१ हो, अर्को सिजनको लागि अक्सन यस वर्षको अन्त्यमा हुने तय छ । २०२४ मा हैदरावाद फाइनलमा पुगेको थियो । त्यतिबेला कमिन्स टोलीको कप्तान थिए ।
आइपिएलको नयाँ नियमअनुसार हरेक टोलीले अधिकतम पाँच क्याप (भारतीय वा विदेशी) र दुई अनक्याप गरि ६ खेलाडी रिटेन गर्न सक्नेछन्। टोलीहरूले अक्सनमा राइट टु म्याच वा दुवैको संयोजनमार्फत खेलाडीहरू लिन सक्नेछन् ।
२०२५ को अक्सनमा हरेक टोलीले १२० करोड भारु खर्च गर्न पाउनेछन् । यता भारतका पूर्वबलिङ प्रशिक्षक पारस म्हाम्ब्रेले पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) विजेता मुम्बई इन्डियन्समा पुनरागमन गरेका छन् ।
गत जुनमा भारतले ट्वान्टी–२० विश्वकप जितेपछि भारतीय टोलीको बलिङ प्रशिक्षकका रूपमा उनको कार्यकाल समाप्त भएको थियो । मुम्बई इन्डियन्सका अनुसार ५२ वर्षीय म्हाम्ब्रेले बलिङ प्रशिक्षक लसिथ मालिंगा र मुख्य प्रशिक्षक माहेला जयवर्धनेसँग काम गर्नेछन् ।
जयवर्धने दुई वर्षको अन्तरालपछि मुम्बई इन्डियन्समा पुनः अनुबन्धित भएका छन् । सन् २०१३ मा आइपिएल र सन् २०११ र २०१३ मा च्याम्पियन्स लिग ट्वान्टी–२० को उपाधि जित्दा मुम्बई इन्डियन्सका लागि काम गरिसकेका छन् ।
मुम्बई इन्डियन्सले सन् २०१७ देखि २०२२ को बीचमा तीन पटक उपाधि जितेका जयवर्धनेलाई पुनः मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उता पूर्वभारतीय क्रिकेट अजय जडेजा वर्तमान क्रिकेट टिमका सदस्य विराट कोहलीभन्दा धनी बनेका छन् ।
जामनगर शाही सिंहासनको उत्तराधिकारी घोषित भएसँगै जडेजाले सम्पत्तिमा कोहलीलाई उछिनेका हुन् । नवानगरका महाराजा जमसाहेबले अक्टोबर १२ मा जडेजालाई उत्तराधिकारी घोषणा गरेका हुन् ।
घोषणासँगै जडेजाको कुल सम्पत्ति एक हजार ४५० करोड भारतीय रुपैयाँ पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार विराट कोहलीको कुल सम्पत्ति एक हजार २२ करोड भारतीय रुपैयाँ छ । जडेजाले भारतीय क्रिकेट टिमका लागि १९६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले सन् १९९२ देखि २००० सम्म भारतीय टिमबाट १५ अन्तर्राष्ट्रिय टेस्ट खेलसमेत खेलेका थिए । क्रिकेटबाट सन्यासको घोषणा गरेपछि उनले सन् २००३ मा ‘खेल’ मार्फत चलचित्र क्षेत्रमा समेत पाइला राखेका थिए । त्यसयता उनले ‘पल पल दिल के साथ’ र ‘कोइ पुछे’ जस्ता चलचित्रमा अभिनय गरेका थिए ।