५ कार्तिक , काठमाण्डौ ।
साफ महिला च्याम्पियनसिपमा भुटानले श्रीलंकामाथि फराकिलो जित निकालेको छ । भुटानले पहिलो जित दर्ता गरेको दिन श्रीलंकाले भने पहिलो हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आज भएको समूह बी को पहिलो खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो ।
भुटानले पहिलो खेलमा घरेलु टोली नेपालसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । श्रीलंकाले पहिलो खेलमा मालदिभ्सलाई पराजित गरेको थियो । जितसँगै भुटानले अंक तालिकामा चार अंक जोडेको छ । श्रीलंकाको भने तीन अंक छ ।
श्रीलंकामाथि जित निकालेसँगै भुटानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पराजित श्रीलंकाको पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ । भुटानको जितमा डेकी लाजोनले दुई तथा नागमेल डेमा र दोर्जी एडोनले समान एक गोल गरे ।
श्रीलंकाका लागि थुसानी मधुसिकाको गोल सान्त्वना बन्यो । खेलको ७९ औँ मिनेटमा नागमेल पेमाको पासमा नागमेल डेमाले गोल गर्दै भुटानको अग्रता फराकिलो पारिन् । ७६ औँ मिनेटमा कप्तान पेमा छोडेन छिरिङको पासमा डेकी लाजोमले गोल गर्दै भुटानलाई ३–१ को अवस्थामा ल्याइन् ।
पहिलो हाफको सुरुवातमा नै भुटानले अग्रता बनाएको थियो । पहिलो हाफको सातौँ मिनेटमा नामगेल डेमाको क्रसमा डेकी लाजोनले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २३ औँ मिनेटमा श्रीलंका खेलमा फर्किएको थियो ।
भुटानकी डेकी याङदोनलाई लाग्दै रिवाउण्ड भएको बललाई श्रीलंकाकी थुसानी मधुसिकाले पोस्टको जाली चुमाएकी थिइन् । खेलको ३२ औँ मिनेटमा नाङमेल डेमाको फ्रिकीक श्रीलंकाका डिफेन्डरले क्लीयर गरेपनि दोर्जी एडोनले नियन्त्रणमा लिर्दै भुटानको अग्रता दोब्बर पारिन् ।
आजै हुने समूह बी कै दोस्रो खेलमा घरेलु टोली नेपाल र मालदिभ्स खेल्नेछन् । सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ । समूह चरणमा नेपालको एक अंक छ । अंकविहीन माल्दिभ्स भने तालिकाको पुछारमा छ । साफ महिला च्याम्पियनसिपमा नेपाल भारतपछिको दोस्रो सफल टिम हो ।
नेपालले चार पटक फाइनल खेल खेलेको भए पनि उपाधि भने जित्न सकेको छैन । फिफा वरीयतामा नेपाल ९८औं स्थानमा छ भने माल्दिभ्स १६१ औं स्थानमा छ । माल्दिभ्सले महिला साफअन्तर्गत सन् २०१६ मा सेमिफाइनल पुग्नुभन्दा बढी केही उपलब्धि हासिल गर्न सकेको छैन ।
बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हराएको थियो । पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो ।
चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन । त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो । पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ ।
सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो । अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हा¥यो । अब, यसपालि भने नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ ।