विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनले एनीएल खेल्ने

२८ कात्तिक ८१, बिहीबार

२९ कार्तिक , काठमाण्डौ।

विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।

Advertisement

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् ।

उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् । धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी व्यक्त गरे ।

Advertisement

उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौँ । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’

भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवद्र्धनमा कर्णाली याक्सले सुखद् सुरुवात गरेको छ,’ थापाले भनेका छन् ।

कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।

धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भनेका छन् । धवनले सम्झौताअनुसार कम्तीमा ४ खेल खेल्नेछन् ।

४ वटा खेल अनिवार्य खेल्ने र अरू खेल परिस्थिति हेरेर खेल्ने गरी सम्झौता भएको छ । कर्णालीमा अनुबन्ध भएपछि धवनले भने, ‘नमस्ते नेपाल । म आउँदै छु नेपाल पिमियर लिग खेल्नको लागि कर्णाली याक्सबाट, तपाईँहरूसँग मिल्नको लागि, कुरा गर्नको लागि ! तयार हुनुहोस्।’

ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ ।

टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्र गतिका बलर सोमपाल कामी छन् । यस्तै, टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् ।

‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । यस्तै अफगानिस्तानका अलराउण्डर इस्मत आलमले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगरले आलमलाई पाँचौ विदेशी खेलाडीको रुपमा टोलीमा आबद्ध गरेको बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । आलमले २० टि ट्वान्टी खेलमा २ सय २५ रन तथा १० विकेट लिएका छन् । आलमले ९२ को रन औसतमा ७ फस्ट क्लास खेलमा ७ सय ३६ रन समेत बनाएका छन् ।

विराटनगरले यसअघि ओमानका ब्याटर अकिब इल्यास क्यानडाका कप्तान निकोलस किर्तन, स्कटल्याण्डका ब्याटर मार्टिन गप्टिल र स्कटल्याण्डका तीव्र गतिका बलर क्रिस सोललाई विराटनगरले अनुबन्ध गरेको थियो । विराटनगरले केही साता अघि मात्रमा आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई मुख्य प्रशिक्षक रहेका छन् ।

विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने रहेका छन् । विराटनगर किङ्स टोलीमा सन्दीप लामिछानेसहित, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम रहेका छन् ।

यता पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । ३४ वर्षीय अलराउन्डर लिस्कले ८० वटा टि ट्वान्टी खेलेमा ८ सय ५९ रन तथा ४५ विकेट लिएका छन् ।

‘एनपिएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा अत्यन्तै खुसी छु। पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामी मैदानमा जोशिलो क्षण तय गर्न तत्पर छौँ,’ लिस्कले भने । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लिस्कको आगमनले पोखराको खेल प्रदर्शन अब्बल हुने बताए ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल पोखराको मार्की खेलाडी हुन् । त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन् ।

त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । नेपाल क्रिकेट संघको आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गते सम्म आयोजना हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top