वीरगञ्जको सानो पाइलामा कसरी जोडिएका छन् रवि ?

१६ मंसिर ८१, सोमबार

१७ मंसिर , काठमाण्डौ।
सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि अदालतसँग अनुमति माग गरेको छ । वीरगञ्ज महानगरपालिका– ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तबरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको थियो ।

Advertisement

उक्त सहकारीका अध्यक्ष जीवी राई हुन् । पर्सा प्रहरीले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने, राई र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुंगेलले बताएका छन् ।

सहकारी ठगीमा उक्त गिरोहमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । यसअघि उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनका विभिन्न सहकारी ठगीमा अनुसन्धान चलिरहेको छ । सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो।

Advertisement

२०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट) ले रकमको अपचलन पुष्टि गरेको एसपी ढुंगेलले बताएका छन्। सहकारी पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा संस्थाकी उपाध्यक्ष तथा मिस नेपाल प्रतियोगिताकी पूर्वप्रतिस्पर्धी नेहा पौडेल आफैं प्रहरीमा उपस्थित भएकी थिइन् ।

सहकारीका कर्मचारी राधेचन्द्र यादव प्रहरीद्वारा पक्राउ गरिएका थिए । जिल्ला अदालतले पौडेललाई गत साउन २१ गते १ करोड १० लाख धरौटीमा रिहा गरेको थियो । यादव पनि ३५ लाख धरौटीमा रिहा भएका थिए ।

Advertisement

यता सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेसी रहेको छ।

युवराज सफलले महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । २०७९ चैत २० गते दायर भएको उक्त रिटमा दोस्रो सुनुवाइका लागि पेसी तोकिएको हो ।

उक्त मुद्दा ३० नम्बरमा पेसी रहेकाले सुनुवाइको पालो पाउने सम्भावना भने न्यून रहेको छ। यसअघि सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ। २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो ।

दुवै आदेश संयोगवश हरि फुयाँलको इजलासले गरेको हो । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । लामिछाने अहिले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बयान जारी छ ।

शुक्रबारदेखि जारी बयान सकेर आजै रविलाई कास्की लैजाने तयारी छ। त्याहाबाट रविलाई चितवन लगिने छ । उनलाई अदालतले पछिल्लो पटक थप १५ दिन समय थप गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top