८ चैत , एजेन्सी ।
इजरेलले एकतर्फी युद्धविरामका बीच हमासमाथि अहिलेसम्मकै भयानक आक्रमण गरेपछि हमासले पनि इजरायलको तेल अभिभलाई निशाना बनाएर तीनवटा रकेट प्रहार गरेको छ । इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण हो ।
आक्रमणको जानकारी हमास आफैँले दिएको छ । तर, ती तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू कोही पनि नबस्ने ठाउँमा खसेको इजरायलले बताएको छ। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेयता कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुने मध्ये २०० भन्दा बढी बालबालिका भएको मन्त्रालयको भनाई छ । प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बिहीबार बताएको थियो । जनवरीमा इजरायल र हमासबिच युद्धविराम सुरु भएयता ठुलो मात्रामा सैन्य कारबाहीबाट केही राहत मिलेको थियो ।
तर यी आक्रमणहरू पछि अवस्था पहिलेकै जस्तो बनेको छ । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको र यीमध्ये २४ जना जीवित रहेको अनुमान इजरायलको छ । हमासको नियन्त्रणमा रहेका मध्ये एक नेपाली युवा विपिन जोशी पनि रहेका छन् ।
उनको रिहाइका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पछिल्लो समय पहल गरिरहेका छन् । हिजो मात्रै प्रधानमन्त्रीले टर्कीएका राष्ट्रपति एर्दाेगानसँग टेलिफोन संवाद गरेका छन् । यसअघि उनले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका थिए ।
पछिल्लो समय इजरेल र हमासबीच फेरि आक्रमण सुरु भएपछि बाँकी बन्धक रहेकाहरुको रिहाई टर्दै गएको छ । इजरेलको आक्रमणपछि गाजा पट्टीमा शासन गर्ने प्यालेस्टिनी चरमपन्थी समूह हमासले बिहीबार अरब र मुस्लिम राष्ट्रहरूलाई इजरायली आक्रमण रोक्न आग्रह गरेको थियो ।
हमासले इजरायलका पछिल्ला आक्रमणलाई नरसंहारको संज्ञा दिँदै यसलाई रोक्न मुस्लिम राष्ट्रहरूको ’नैतिक र राजनीतिक’ जिम्मेवारी रहेको बताएको छ। इजरायलले मंगलबार बिहान घातक आक्रमण गर्दै आफ्नो सैन्य अभियान पुनः सुरु गरेपछि १९ जनवरीदेखि लागू भएको युद्धविराम अन्त्य भएको थियो।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार लगातार तेस्रो दिन गाजामा इजरायली आक्रमण जारी रहँदा बुधबारदेखि बिहीबार रातभर थप ९१ जनाको मृत्यु भएको छ, जसमा एक नवजात शिशु पनि समावेश छ।
पछिल्ला हवाई आक्रमणमा हमासका धेरैजसो वरिष्ठ नेताहरू मारिएका छन्, जसमा गाजाको सरकार प्रमुख र सुरक्षा सेवाका प्रमुख पनि छन्। बिहीबार इजरायली सेनाले राफाको दक्षिणी क्षेत्रमा स्थलगत अभियान पुनः सुरु गरेको जनाएको छ, भने महत्वपूर्ण नेत्जारिम करिडोरमा इजरायली ट्याङ्कहरू पुगेका छन्।
एक विज्ञप्तिमा हमासले भनेको छ, “निरन्तर भइरहेका यी नरसंहार, अरब लिग र इस्लामिक सहयोग सङ्गठनबलाई प्रत्यक्ष रूपमा राजनीतिक र नैतिक जिम्मेवारी दिन्छ, ताकि संसारभर भइरहेको यस नरसंहारलाई रोक्न सकियोस्।“
विज्ञप्तिमा थप भनिएको छ, “हामी अरब र इस्लामिक राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरू, विशेष गरी संयुक्त राष्ट्र सुरक्षा परिषद्मा तत्काल कदम चाल्न, आक्रमण रोक्न तथा आवश्यक उपायहरू लागू गर्न आह्वान गर्छौं।“