३१ चैत , काठमाण्डौ।
नेपालले चारदेशिय टी–२० सिरिजको उपाधिका लागि आइतबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार लिग चरणको अन्तिम खेल नेपाल र हङकङ भिडिरहेका थिए । तर, खेल नौ ओभर पुग्दा नै वर्षाको कारण रद्द भएपछि नेपाल अपराजित रहँदै फाइनलमा पुग्न सफल भएको थियो ।
नेपालले तीन खेलमा जित निकाल्यो । यता, कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो । नेपाल र कुवेतबीचको खेल अहिले सवा ११ मा सुरु हुनेछ । नेपाल र कुवेत यसअघि दुईपल्ट भिडेका छन् ।
ती दुवै खेलमा नेपाल अपराजित छ । सन् २०१९ मा आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय फाइनलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको थियो । उक्त खेलमा पारस खड्काले सर्वाधिक ६८ रन बनाएका थिए ।
यस्तै, ज्ञानेन्द्र मल्ल १९ र दीपेन्द्रसिंह ऐरी एक रनमा आउट भएका थिए । अहिले मल्ल नेपाली टोलीको प्रशिक्षकको भूमिका छन् । उक्त खेलमा खेलेका दीपेन्द्र, रोहितकुमार पौडेल, करण केसी र सोमपाल कामी यही सिरिजमा छन् ।
नेपालले दोस्रोपल्ट भने यही सिरिजमा कुवेतलाई हराएको हो । आफ्नो दोस्रो खेलमा नेपालले कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै कुवेतलाई ६ विकेटको नमिठो हार चखाएको थियो । नेपाल यो लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ ।
कुवेत भने उक्त दुई ठूला हारको बदला लिँदै उपाधि हत्याउने दाउमा हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित एकमात्रै टोली हो । यसै वर्ष हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीका रूपमा नेपालले विभिन्न शृंखला तथा अभ्यास खेलहरू खेल्ने तय भएका छन् । यस प्रतियोगिता पनि त्यही तयारीको सुरुवाती हो ।