विराटनगर : प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा मिश्रित धारणा आएपछि दुई तिहाई सत्ताधारी दल नेपाल कम्यिुनिष्ट पार्टीको संसदीय दलको दुईदिने बैठक अर्को बैठकमा सहमती खोज्नेगरी स्थगित भएको छ ।
संसदीय दलको बैठकमा सोमबार दुई र मंगलबार ५४ जना साँसद बोलेका छन् । बैठकका प्रमुख एजेण्डामाथि बोल्ने सांसद्बीच सहमती नजुटेपनि लामो समयका लागि भने स्थगित नगरिएको प्रमुख सचेतक बुद्धिकुमारराज भण्डारीले बताए ।
बुधबार प्रदेश १ का प्रदेश समन्वय परिषद्को बैठक डाँकिएको कारण पनि दलको बैठकलाई निरन्तरता दिन नसकेको उनले जानकारी दिए ।
बैठकमा नाम र राजधानीबारे मिश्रित प्रस्ताव आएका छन् ।केही सांसदले प्रदेशको नाम सगरमाथा,केहीले कोशी प्रदेश प्रस्ताव गरेका छन् । नाममा किँरात समेत जोडिनुपर्ने सुझाव पनि धेरै आएको जनाईएको छ ।
राजधानीको विषयमा पनि मिश्रित प्रस्ताव आएका छन् । कतिपयले संघियता भनेकै विभिन्न ठाउँमा प्रदेश संरचना राखिनु हो भन्ने तर्क गरेका छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।