केएमसीमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण,बिरामी डिस्चार्ज

२३ असार ८२, मंगलबार
२४ असार , काठमाडौं ।
नेपाली चिकित्सा क्षेत्रमा एक ऐतिहासिक कोशेढुंगा स्थापित गर्दै काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलले पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ।
यो उपलब्धिले नेपालमै जटिल अंग प्रत्यारोपण सम्भव छ भन्ने विश्वासलाई अझ बलियो बनाएको छ। डडेल्धुरा जिल्ला, अमरगढी नगरपालिका–५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीमा गरिएको यो सफल प्रत्यारोपणमा उनकी ३३ वर्षीया श्रीमती यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन्।
डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरूको टोलीले यो जटिल र लामो शल्यक्रियालाई सफलतापूर्वक सम्पन्न गरेको हो।
प्रत्यारोपणपछि दुवै दाता र ग्रहणकर्ताको स्वास्थ्य अवस्था स्थिर रहेको र बिरामी प्रदीप नगरकोटी पूर्ण रूपमा स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भइसकेको केएमसीले जनाएको छ ।
यो ऐतिहासिक सफलताप्रति खुसी व्यक्त गर्दै कलेजका सञ्चालक एवं नेपाली कांग्रेसका लोकप्रिय युवा नेता, सांसद डा. सुनिल शर्माले यसलाई नेपाली चिकित्सा क्षेत्रको गौरवपूर्ण क्षणको रूपमा वर्णन गरेका छन्।
उनले भने, “यो सफलता सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, र प्राविधिकहरूको अथक मिहिनेत र समर्पणको प्रतिफल हो। म सम्पूर्ण टिमप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु।”
कलेजो प्रत्यारोपण जस्तो जटिल प्रक्रिया नेपालमै सफलतापूर्वक सम्पन्न हुनुले देशको स्वास्थ्य प्रणालीको गुणस्तर र प्राविधिक क्षमतामा भएको अभूतपूर्व प्रगतिको सङ्केत गर्दछ।
यो उपलब्धिले भविष्यमा नेपालमै अन्य अंग प्रत्यारोपण सेवा विस्तार गर्न र उपचारका लागि विदेश जानुपर्ने हजारौं नेपालीको बाध्यतालाई अन्त्य गर्न ठूलो प्रेरणा प्रदान गरेको छ।
यसले बिरामीहरूको समय र पैसाको बचत मात्र नभई आफ्नै देशमा, आफ्नै परिवारको साथमा उपचार पाउने आशा जगाएको छ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top