कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

२७ साउन , काठमाण्डौ ।

मनसुनको सक्रियताले एकातिर नेपालभरि वर्षा र बाढीको जोखिम बढाएको छ भने अर्कोतिर सीमापारि भारतको उत्तराखण्डमा आएको विनाशकारी बाढीमा २६ नेपाली बेपत्ता हुँदा देश नै शोकमग्न बनेको छ।

जल तथा मौसम विज्ञान विभागले नेपालको तराई नजिक मनसुनको न्यूनचापीय रेखा सक्रिय रहेकाले व्यापक वर्षाको सम्भावना औंल्याउँदै देशका ४६ जिल्लामा बाढीको चेतावनी जारी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशभर सामान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी, मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ।

यसले गर्दा साना तथा ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै राजधानी काठमाडौंसहित ४६ जिल्लालाई “पहेँलो“ सतर्कता सूचीमा राखेको छ।

कोशी नदीका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक पुगेको छ भने नारायणी, बागमती, कर्णाली, र महाकाली जस्ता प्रमुख नदीहरूको जलस्तर पनि बढ्दो क्रममा छ।

विशेषगरी, इलाम, झापा, सुनसरी, मोरङ, सिन्धुपाल्चोक, चितवन, पर्सा, बारा, कैलाली, र कञ्चनपुर जस्ता जिल्लाहरूबाट बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

यी क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनार र जोखिमपूर्ण स्थानहरूबाट सुरक्षित रहन र सरकारी सूचनाहरूमा ध्यान दिन आग्रह गरिएको छ।

यस्तै पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाब बढेको छ। गएराति गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाब एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज कार्यालयले जानकारी दिएको छ ।

सप्तकोशी नदीमा बहाब बढ्दो क्रममा रहेकाले १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ। सप्तकोशीमा ५२ वटा मूल र चार वटा नहरका गरेर ५६ वटा ढोका छन्।

कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

उता नेपालमा मनसुनले निम्त्याउन सक्ने सम्भावित खतराबारे चिन्ता बढिरहँदा भारतको उत्तराखण्डबाट आएको खबरले हरेक नेपालीको मनलाई छियाछिया बनाएको छ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार गत हप्ता उत्तराखण्डको उत्तरकाशी र पौडीगढवालमा आएको भीषण बाढीमा परी २६ नेपाली नागरिक बेपत्ता भएका छन्।

उत्तरकाशीको धरालीमा खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्ग नै तहसनहस बनाएको छ, जहाँ होटेल र स्याउ फार्ममा काम गर्न गएका २१ नेपाली परेको अनुमान छ।

बेपत्ता हुनेहरूमा जनकबहादुर शाही, रवि सिंह, प्रभाती, निर्मला खड्का, सुवास विक जस्ता कैयौं व्यक्तिहरू छन्, जसले आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न विदेशी भूमिमा पसिना बगाइरहेका थिए।

त्यसैगरी, पौडीगढवालमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का लगायत ५ जना बेपत्ता भएका छन्। यो घटनाले रोजीरोटीका लागि बिदेसिनु पर्ने नेपालीहरूको पीडा र उनीहरूले भोग्नुपर्ने अप्रत्याशित जोखिमलाई देखाएको छ ।

हाल त्यस क्षेत्रमा फोन र विद्युत सेवा सुचारु भएसँगै खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ, तर समय बित्दै जाँदा उनीहरू सकुशल भेटिने आशा क्षीण बन्दै गएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.