२८ साउन , काठमाण्डौ ।
नेपालका जेलहरुमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेका छन् । जुन कारागारको क्षमताभन्दा ७ गुणा बढी हो । यसबारेमा आज गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन् ।
संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमताभन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् ।
उनका अनुसार ६५ वर्षमाथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ हजार ४ सय २७ जना रहेका छन भने महिला १ हजार ५ सय ५० जना रहेको अवस्था छ भने अहिले पुरुष बन्दी नै २७ हजार १६८ जना रहेका छन् ।
सबैभन्दा बढी बन्दी बलात्कारका मुद्दामा रहेका छन्, जसअनुसार जबर्जस्ती करणीतर्फ २५.५४, लागूऔषध २४.३७, कर्तव्य ज्यानतर्फ १६.१२, सवारी अंगभंगतर्फ ४.१६, चोरी १३.८२ प्रतिशत कैदीबन्दी रहेका छन् ।
देशभरका ७५ वटा कारागार रहेको जानकारी दिँदै गृहमन्त्री लेखकले कैदीबन्दी राख्ने कुल क्षमता १८ हजार मात्रै रहेको पनि जनाए । उनका अनुसार कैदीबन्दीलाई सात सय ग्राम चामल र दैनिक ८० रुपैयाँ दिइने गरिएको छ ।
प्रतिबन्दी वर्षको दुई जोर कपडा खरिद गर्न २ ५ सय, सिरक डस्ना किन्न प्रतिबन्दी ३ हजार वितरण गर्ने गरिएको छ । ‘बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिँदै आइएको छ,’ लेखकले भने ।
यस्तै गृहमन्त्रीले रास्वपा सभापति रवि लामिछानेलाई पनि कैदीबन्दीहरूले पाउने सुविधानबाट वञ्चित नगरिएको बताए । रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको उनले स्पष्ट पारे ।
लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि उनले बताए । ‘माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ ।
त्यसबारे उहाँ त्यहाँ बस्नुभएको छ । मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन,’ गृहमन्त्री लेखकले भने ।
उनले लगातार रुपन्देही कारागार प्रशासनसँग समस्या समाधानका लागि केही गर्नुपर्ने भए आफूले सोधखोज गरिरहेको बताए । ‘अब मानव अधिकार आयोगले पनि गएर केही रिपोर्टहरू दिएको छ । जेलहरू कन्जेस्टेड छन् ।
उहाँलाई सानै भएपनि अलग्गै कोठामा राखिएको छ । उहाँ बस्नुभएको छ,’ लेखकले भने, ‘उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ की, केही गर्नुपर्छ की भनेर सोधेकै अवस्था छ । उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन । तर न्युनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन ।
कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने पनि उनले बताए । कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको उनले बताए ।
‘कारागार सार्ने कुरा अघि बढेको छ,’ लेखकले भनेका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज संसदमा उभिएर लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भनेर आरोप लगाएको बारे टिप्पणी गरेका छन् ।
सहकारीमा गरेको बचत हिनामिना गर्न सयौँ व्यक्तिमाथि मुद्दा चलेको तर रवि लामिछानेमाथि मात्रै प्रतिशोध साँधिएको भन्ने भाष्य बनाइएको भन्दै ओलीले आपत्ति जनाए ।
’लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ,’ उनले भने, ’तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ ।
एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो ? अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुनकुन व्यक्तिमाथिको थुना जायज हो ?
भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने छ । त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि छ’ ओलीले भने ।
ओलीले काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीलाई पेसेबर मासमेनेपोलुसनबाट बचाउनुपर्ने बताए । यता आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भने सरकारले कैदीबन्दीको ज्यानको सुरक्षा गर्न असफल भएको आरोप लगाएका छन् ।
साहले कारागारमा कैदीबन्दीको हत्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्दै यसबारेमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन्।
वीरगञ्ज कारागारका कैदी राहुल साह र कैलाली कारागारका कैदी भरत चौधरीको हत्याको जिम्मा कसले लिने भन्दै उनले सरकारले यसबारेमा जवाफ दिनुपर्ने माग समेत गरे ।
उपचार नपाएर साहको र झडपमा परेर चौधरीको मृत्यु भएपछि आजपा अध्यक्ष साहले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । कारागार पनि असुरक्षित हुन थालेपछि देशको शान्ति, सुरक्षाको अवस्था के हुने हो भनेर उनले प्रश्न गरेका छन् ।
‘देशमा शान्ति, सुरक्षा, अमनचयन त भएन भएन, अब त कारागार पनि असुरक्षित हुन थाल्यो । सरकारको कष्टडीमा पनि व्यक्ति सुरक्षित नहुने भन्ने भयो । अहिले यसरी हेर्दा यो देशमा एउटा मात्रै सुरक्षित देखियो, त्यो भनेको नेताहरूको लुट र भ्रष्टाचार ।’
कारागारमा भएको कैदीबन्दीको निधनमा सरकारको बेथिति दोषी रहेको साहको आरोप छ । कैलाली कारागारको अवस्थाबारे सरकारलाई अग्रिम जानकारी भएको भएपनि घटना घट्नु दुःखद् भएको उनको टिप्पणी छ ।
कारागार नै कैदीबन्दीहरुले ४८ घण्टासम्म नियन्त्रण लिएको घट्नाले नेपालको सुरक्षा संयन्त्र असफल भएको पुष्टि भइसकेको साहको दाबी छ । त्यहाँ भएको आर्थिक अनियमितता, लेनदेनका कुरादेखि लिएर लागुऔषध ओसारपसार, हातहतियारको विषयहरू उजागर भएको उनले बताए ।
यसैबीच सुनसरी जिल्ला कारागारबाट सामूहिक जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद सजाय पाएका एक कैदी फरार भएका छन् । फरार हुने कैदी खोटाङको चुइचुम्मा गाउँपालिका–२ का २५ वर्षीय रूपक पौडेल खत्री भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले पुष्टि गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बिहानको कैदी गणना गर्दा खत्री भेटिन नसकेपछि फरार भएको आशङ्का गरिएको बताए ।
‘बिहान काउन्ट गर्दा भेटिएन, फरार भएको हो कि भन्ने खालको कुरा आयो, छानबिन समिति गठन गरेका छौँ,’ उनले भने । घटनापछि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
समितिमा नेपाल प्रहरीका डिएसपी, सशस्त्र प्रहरीका डिएसपी, अनुसन्धान इन्स्पेक्टर र कारागार कार्यालयका नासु रहेका छन् । समितिले फरारको कारण, सुरक्षा कमजोरी र सम्भावित संलग्नताबारे अनुसन्धान सुरु गर्ने भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी मिश्रले कारागारको सुरक्षा सशस्त्र प्रहरीको जिम्मामा रहेको छ र प्रारम्भिक रूपमा सुरक्षामा लापरबाही भएको आशङ्का गरिएको बताए ।
रूपक पौडेल खत्रीलाई अदालतले २०८१ चैत २५ गते सामूहिक जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष कैद सजाय सुनाएको थियो । खत्रीलाई २०८१ साउन २१ गते कारागार चलान गरिएकाको थियो ।
यता विराटनगरस्थित बालसुधार गृहमा पनि झडप भएको छ । आज दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।
सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ । सुनारका अनुसार अहिले अवस्था सामान्य छ । सुधार गृहमा २४९ जना बालकहरू छन् ।