१९ भदौ , काठमाण्डौ ।
उता एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । ताजकिस्तानमा गएराति भएको खेलमा नेपाली टोली ४–० ले घरेलु टोलीसँग हारेको हो ।खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खायो ।
पहिलो हाफको ३९औँ मिनेटमा मुहम्मदाली अजिजबाइभको गोलमा ताजकिस्तानले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको थियो । खेलको ५८औँ मिनेटमा मुहम्मदालीको व्यक्तिगत दोस्रो गोलमा घरेलु टोलीले अग्रता दोब्बर पा¥यो ।
ताजकिस्तानको वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रहमातजोडा रहमातसोहले खेलको ८९औँ मिनेटमा गोल थप्दै नेपालविरुद्धको अग्रता फराकिलो पारे । इन्ज्युरी समयको पहिलो मिनेटमा अर्का वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सारिपोभ डालेरले गोल गरेपछि ताजकिस्तान नेपालविरुद्ध ४–० ले विजयी भयो ।
समूह केमा रहेको नेपाल अब दोस्रो खेलमा शनिबार सिरियासँग भिड्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले फिलिपिन्सविरुद्ध खेल्ने तालिका छ । एसियन कप छनोटमा सहभागी ४४ टोली ११ समूहमा बाँडिएका छन् । हरेक समूहमा ४ टोली छन् ।
हरेक समूहका विजेता टोलीले अन्तिम चरणमा स्पर्धा गर्नेछन् । यस्तै चार उत्कृष्ट समूह उपविजेता टोलीले पनि एसियन कपमा स्थान पक्का गर्नेछन् । आयोजक साउदी अरेबिया भने आयोजकका रूपमा यसअघि नै छनोट भइसकेको छ ।
यसैबीच नेपाली टोलीका आयुष घलानले ताजकिस्तानविरुद्ध खेल्न पाएनन् । २०७९ असोज ३ गते बहराइनमा बंगलादेशविरुद्ध भएको खेलमा अमर्यादित क्रियाकलाप गरेपछि एएफसीले उनलाई कारबाही गरेको हो । एएफसीको उमेर समूहको खेलमै उनले बंगलादेशका खेलाडीलाई मिडल फिंगर देखाएका थिए ।
सोही कारण एएफसीले उनलाई एक खेलमा प्रतिबन्ध लगाएको हो । त्यसयता एएफसीका उमेर समूहका प्रतियोगिता नखेलेका आयुषले लामो समयपछि एक खेलमा निलम्बनको सजाय भोगेका हुन् ।