६ असोज, विराटनगर । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले राजनीतिक नेतृत्व र दलहरुमाथि गम्भीर प्रश्न उठाउँदै अब पनि नसुध्रिए ठूलो विद्रोह हुन सक्ने र नेताहरुको ज्यान नै खतरामा पर्न सक्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले चेतावनी स्वरुप भनेका छन् कि, समयमै राजनीतिक दल र नेताहरुले सुझबुझका साथ आफ्ना गल्ती र राजनीतिक अपराधहरुको आत्मसमिक्षा गरेर सुधार नगरे फेरी अर्को ठूलो जनविद्रोह हुनेछ ।
उनले भनेका छन्,“समयमा नै राजनैतिक दलहरु र नेताहरुले सुझबुझ सहित आफुले गरेका गल्ती र कैयौं राजनैतिक अपराधिकरणलाई आत्मसमिक्षा गरी नसच्याउने हो भने,सच्याउन तयार नहुने हो भने र जेनजी आन्दोलनको उपलव्धीलाई शुन्य बनाउन षडयन्त्रका तानाबुना बुनिरहने हो भने भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने निश्चित छ । “
शर्माले जेनजी आन्दोलनलाई केवल युवाको आन्दोलन नभई आम जनताको आन्दोलनका रूपमा बुझ्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारीको निर्वाचन, कार्यकाल सीमा, पार्टी नेतृत्वमा समयसीमा, महाधिवेशनको अनिवार्यता, न्यायालयमा कुनै पनि राजनीतिक नियुक्ति नहोस् भन्ने माग गर्दै यसको लागि लोक सेवा आयोग सरहको स्वायत्त निकाय गठन गर्नुपर्ने, एनआरएनलाई अधिकार सुनिश्चित गर्ने, विपन्न परिवारलाई १ प्रतिशत ब्याजदरमा शिक्षाका लागि सफ्ट लोन उपलब्ध गराउने तथा १० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा जस्ता आधारभूत आवश्यकतालाई संविधानमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले थप भनेका छन्, “यस पटक जेनजी आन्दोलनमा नेताहरु कुटिएमात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरु खोजि खोजि पासविक रुपमा मारिने छन् । आफ्नै घरमा पनि मानिसहरु सुरक्षित नहुने र हामीले कल्पना गरे भन्दा पनि बढी मानिसहरुले ज्यान गुमाउने परिस्थिति आउन सक्छ । समयमा नै सवैलाई चेतना भया । देश र जनता भन्दा कोही ठूलो छैन । “