१५ असोज , काठमाण्डौ ।
यस वर्षको दशैँमा झण्डै ६ अर्ब रुपैयाँको सुकिला नोट साटिएका छन् । राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सटही खुल्ला गरेकोमा झण्डै ६ अर्ब रुपैयाँको सटही भएको जनाएको छ ।
गएको वर्ष झण्डै चार अर्ब रुपैयाँको सुकिला नोट सटही भएको थियो । यी दुबै बर्षको रकम नयाँ नोट सटही हुने बर्षहरुको भन्दा निकै कम हो ।
सरकारले २०८० सालको दशैंसम्म नयाँ नोट सटही गर्ने गरेको थियो । २०८० सालमा झण्डै २९ अर्बको नयाँ नोट साटिएका थिए । गएको बर्ष नयाँको सट्टा सुकिला नोट साट्न थालेपछि एकैपटक चार अर्बमा झरेको हो ।
यसपाली पनि ६ अर्बको हाराहारीमा मात्रै सटही भएको छ । यसरी हेर्दा नयाँ नोटको तुलनामा सुकिला नोटप्रति आकर्षण कम रहेको छ ।
बजारमा पहिलो पटक पठाइएका नोटलाई नयाँ र बजारमा चलनचल्तीमा रहेका तर सफा र राम्रै अवस्थामा रहेका प्रयोगयोग्य नोटलाई सुकिला नोट भनिन्छ ।
दशैँ लक्षित नयाँ नोट छाप्नुभन्दा बजारमा नोटको आबश्यकताका आधारमा मात्रै नोट छपाइ गर्दा खर्च कम हुने भएकोले दशैँमा सुकिला नोट सटही गर्न थालेको राष्ट्र बैंकले जनाएको छ ।