२० असोज , काठमाण्डौ ।
नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज तोलाको २५ सय रुपैयाँले बढ्दै सुन हालसम्मकै महँगो भएको हो । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार पनि सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले बढेर रेकर्ड राखेको थियो । सुनको मूल्य बढ्दा सोमबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २९ सय ३० रुपैयाँ पुगेको छ ।
उता बजार मूल्यको हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । प्रति बिटक्वाइनको मूल्य हिजो २.७ प्रतिशतले बढेर एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि अर्थात् एक करोड ७७ लाख रुपैयाँभन्दा धेरै पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आएको मैत्रीपूर्ण नियमन र संस्थागत लगानीकर्ताहरूको बलियो मागले गर्दा अगस्टको मध्यमा प्रति बिटक्वाइनको मूल्य एक लाख २४ हजार चार सय ८० डलर रहेको थियो ।
अमेरिकी इक्विटीमा भएको पछिल्लो वृद्धि र बिटक्वाइन एक्सचेन्ज–ट्रेडेड कोषहरूमा आएको प्रवाहले शुक्रवार क्रिप्टोकरेन्सीको भाउ लगातार आठौं सत्रमा बढेको थियो । अमेरिका, क्यानडा, युरोपेली सङ्घ, सिङ्गापुर, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएका छन् ।
चीन, पाकिस्तान, साउदी अरेबिया र ट्युनिसियाले क्रिप्टोमा कारोबार गर्न नपाउने गरी कडा प्रतिबन्ध लगाएका छन् । नेपालमा पनि क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध छ ।