विश्वकप छनोट अघि आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

१९ असोज ८२, सोमबार

२० असोज , काठमाण्डौ ।

आईसीसी टी–२० विश्वकपको छनोट तथा इस्ट एशिया प्यासिफिक छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोट अघि अभ्यास खेलमा व्यस्त नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । विश्वकपको छनोट अघि नेपाल क्रिकेट संघ (क्यान)ले दुई वटा अभ्यास खेलमा सहभागी गराएको हो । यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

Advertisement

ओमानले प्रस्तुत गरेको १११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो ।

नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

Advertisement

नेपाली टोलीले भर्खरै संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको थियो । नेपाली टोली यूएईबाट विश्वकप छनोट खेल्न ओमान गएको हो ।

यता एएफसी एशियन कप छनोट अन्तर्गत भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रशिक्षक म्याट रसले भियतनामसँगको दुई खेलका लागि किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीमा धेरैजसो पुरानै खेलाडी दोहोरिँदा ६ जनाले पुनरागमन गरेका छन् ।

आयुष घलान, कृतिशरत्न छुन्जु, सुमित महर्जन, सनिस श्रेष्ठ, विमल पाण्डे र विशाल सुनार टोलीमा फर्किएका हुन् । यीबाहेक टोलीमा अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ रहेका छन् ।

एशियन कप छनोटमा नेपालले यही असोज २३ र २८ गते भियतनामसँग खेल्नेछ । नेपालले ‘होम म्याच’ त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नुपर्ने हो । तर दशरथ रङ्गशाला अयोग्य रहेका कारण नेपालले ‘होम’ र ‘अवे’ दुवै खेल भियतनाममा नै खेल्नेछ । फिफा वरीयतामा नेपाल १७६ औं स्थानमा छ भने भियतनाम ११४औं स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top