२१ असोज , काठमाण्डौ ।
नेपालमा मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्ने सम्भावना भने कायमै छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभावले आज पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक÷दुई ठाउँहरुमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिजोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको पूरै क्षेत्रबाट तथा लुम्बिनीको पश्चिमी भेगका धेरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिएको छ ।
योसँगै ती ठाउँमा पश्चिमी वायुको प्रभाव शुरू भएको हो । यसबीच बाढी पूर्वानुमान महाशाखाले आज जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव सामान्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने जानकारी दिएको छ ।
साथै रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, बाँके, रुकुम पश्चिम, बाजुरा, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव सामान्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ । यसैबीच आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा अहिले साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक बस्न लागेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुनेछ ।
बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ । बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।
असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भारी वर्षासँगै आएको बाढी पहिरोले ६० जनाकोृ ज्यान गएको थियो । सबैभन्दा धेरै क्षति इलाममा भएको छ । बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौंको क्षति पुगेको छ । बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, कृषि मन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ ।
साथै विज्ञ सदस्यको रुपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि बैठकमा सहभागी हुनेछन् । गएको शुक्रवार रातिदेखिको वर्षासँगै खसेको पहिरो र चट्याङमा परी देशभर ६० जनाको ज्यान गएकोमा १९ पुरुष, २६ महिला र १५ जना नाबालक रहेका छन् ।
इलाममा मात्रै ३७ जनाको ज्यान गएको छ । यसैगरी पाँचथरमा आठ, उदयपुरमा तीन, खोटाङमा दुई र सुनसरीमा एक जनाको पहिरोमा परी ज्यान गएको छ । रौतहटमा तीन जनाको चट्याङ लागेर ज्यान गएको छ । मोरङ, सिन्धुली र महोत्तरीमा एक÷एक जनाको ज्यान गएको छ । यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।