२२ असोज , काठमाण्डौ ।
वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विभिन्न सडकका पाँच स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ ।
संखुवासभाको भोटखोला र मकालुमा कोशी राजमार्ग, इलामको इलाम नगरपालिका–९ मा मेची राजमार्ग, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ ।
त्यसैगरि सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ । त्यसैगरि आज धनकुटाको पाख्रिवास नगरपालिका–५ मा मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँघुरीगढी गाउँपालिकामा कोसी लोकमार्गमा एकतर्फी गाडी चलेका छन् ।
त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका– ११ घट्टेपाखामा पनि सवारी साधन एकतर्फी गुडिरहेका छन् ।
सिन्धुलीको मरिण गाउँपालिका– २ सिन्दुरेस्थित मदन भण्डारी राजमार्ग पनि आज एकतर्फी बन्द भएको छ । एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ ।
यसैबीच असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताएका छन् ।
अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो मर्मतका लागि उपकरण र जनशक्ति परिचालन गरिएको भन्दै उनले भइरहेका कामको निममित अनुगमन भइरहेको पनि जानकारी दिएका छन् । यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मची राजमार्गमा पुगेको छ।
मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बाढी पहिरोबाट क्षति भएको कोशी राजमार्ग, मध्यपहाडी सडक, हुलाकी सडक, अरनिको राजमार्ग, कान्ति लोकपथ, नारायणघाट—मुग्लिङल राजमार्ग लगायतका सडकको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ ।
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसैबीच आज पनि कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
देशका पहाडी भागका थोरै ठाउँ तथा तराइ भागका एक÷दुई ठाउँमा दिउँसो मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव तथा अरु क्षेत्रमा मनसुनी एवम् स्थानीय वायुको कमजोर प्रभाव रहेको महाशाखाले जनाएको छ । गएराति नवलपरासीको बर्दघाट आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ ।
त्यस्तै कर्णाली, सुदूरपश्चिमका थोरै तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षा भएको छ । गएको जेठ १५ मा पूर्वबाट नेपाल भित्रिएको मनसुन अस्ति असोज २० गतेदेखि बाहिरिन थालेको छ ।
यसवर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भागको धेरै ठाउँहरू र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै ठाउँबाट बाहिरिसकेको छ । मनसुनी वायू कमजोर हुँदै गएको र बाँकी भागबाट पनि मनसुन बाहिरिने क्रममा रहेको महाशाखाले जनाएको छ ।