कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

६ कात्तिक ८२, बिहीबार

६ कार्तिक , काठमाण्डौ ।

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। मंसिरमा हुने प्रतियोगितालाई लक्षित गर्दै सार्वजनिक गरिएको यो जर्सीले कर्णाली प्रदेशको पहिचान झल्काउने गरी डिजाइन गरिएको बताइएको छ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार, आकासे र पहेंलो रंगको संयोजनमा तयार पारिएको नयाँ जर्सीले प्रदेशको भौगोलिक विविधता र सांस्कृतिक समृद्धिलाई प्रतिनिधित्व गर्छ।

Advertisement

उनले जर्सीलाई चाँडै समर्थक र बजारमा उपलब्ध गराइने पनि जानकारी दिए। दोस्रो संस्करणको तयारीमा जुटेको कर्णाली याक्सले नोभेम्बर ५ मा ट्यालेन्ट हन्ट आयोजना गर्ने तयारी गरेको छ।

गत वर्षको पहिलो संस्करणमा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। यसपटक पनि टोलीले कप्तान र प्रशिक्षकका रूपमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ भने राजु बस्नेत कन्सल्ट्यान्ट प्रशिक्षकको भूमिकामा रहनेछन्।

Advertisement

खेलाडी सूचीमा कर्णालीले आफ्ना मुख्य खेलाडीहरू सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ।

तीमध्ये विपिन शर्मा पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट उदाएका प्रतिभाशाली खेलाडी हुन्, जसले छोटो समयमा उत्कृष्ट प्रदर्शन देखाएका छन्। यस्तै, क्लबले पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका स्पिनर मार्क वाटलाई अनुबन्ध गरेको छ।

२९ वर्षीय वाटले स्कटल्यान्डका लागि ७७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ८९ विकेट लिएका छन् भने ८२ एकदिवसीय खेलमा ११० विकेट हासिल गरेका छन्।

कर्णाली याक्सले नयाँ जर्सी सार्वजनिकसँगै एनपिएलको तयारीलाई अझ तीव्र बनाएको छ र यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा रहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top