९ कार्तिक, काठमाण्डौ ।
देशका केही स्थानमा आज आंशिक बदलीको पूर्वानुमान छ । बाँकी भूभागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
आकाशमा ५० प्रतिशतसम्म बादल हुनुलाई आंशिक बदली भनिन्छ । २५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको पूर्वानुमान छ ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । “हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन,” महाशाखाले भनेको छ । आउँदो बुधबार र बिहीबार भने देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ ।
उता अत्यधिक चिसो भएपछि हुम्लाको जनजीवन प्रभावित भएको छ । धारामा पानी नै जम्न थालेपछि उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६, लिमीस्थित इलाका प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ ।
लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका निम्ति सदरमुकाम स्थानान्तरण गरिएको हो । गएको असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सिमकोट फर्केका हुन् ।
चिसो निकै बढ्दा सुरक्षाकर्मीलाई सदरमुकाम सिमकोट फिर्ता बोलाइएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । २३ जनाको दरबन्दी भए पनि हाल उक्त चौकीमा प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको नेतृत्वमा १४ जना कार्यरत थिए ।
प्रहरी नायब निरीक्षक चन्दले बाक्लो हिमपातपश्चात् चिसोले बस्न नसकेपछि जिल्लालाई खबर गरेको बताए । धारामा पानी जम्ने तथा तापक्रम माइनस आठ डिग्री सेल्सियसमा झरेपछि काम गर्न कठिन भएको उनले बताएका छन् ।










