×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

अविरल वर्षा जारी,कहाँको अवस्था कस्तो ? कहिले खुल्छ मौसम ?

१५ कार्तिक २०८२

१४ कार्तिक , काडमाण्डौ ।

देशको पश्चिमदेखि पूर्वसम्म धेरै स्थानमा पानी परिरहेको छ । हल्कादेखि भारीसम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।पश्चिम र मध्य क्षेत्रका केही स्थानमा आज बेलुकादेखि वर्षा रोकिने मौसमविद्ले बताएका छन् ।

Advertisement
Advertisement

मधेस प्रदेश र पूर्वी क्षेत्रमा भने जोखिम कायमै रहेको मौसमविद्को भनाइ छ । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक असरले मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।

पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ । यसैगरी सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार मोन्था चक्रवातको प्रणालीको प्रभाव आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ ।

त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको उनले जानकारी दिइन् ।साथै काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरुमा हल्का वर्षा हुने उनको भनाइ छ ।

यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगहरुमा हिमपातको समेत सम्भावना छ । भोलि शनिबार बिहानदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन् ।

यसैबीच बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् ।

अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा पनि लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुनः माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने बताए । उनले सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् ।

निरन्तरको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन् । तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग बाढी–पहिरोका कारण अवरुद्ध भएका छन् । पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैगरी मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द छ । गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलिएको नयाँ ट्र्याकको ठाउँ–ठाउँमा पहिरो गएका कारण र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो ।

मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्ला समेत जोखिममा पर्ने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले सो सडकखण्डमा बिहीबार साँझदेखि सवारी आवागमनमा रोक लगाएको थियो ।

यता तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ । माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो । तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले काठमाडौंसहित वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा यस दिन अपराह्नसम्म वर्षा रोकिने उल्लेख गरेका छन् । मधेस प्रदेशको सर्लाहीसम्म पनि आजै पानी पर्न रोकिने उनले औँल्याएका छन् ।

कोसी प्रदेशका केही जिल्लामा भने शनिबार (कात्तिक १५) बिहानसम्म वर्षा रोकिने र मध्याह्नदेखि मौसम खुल्ने उनको अनुमान छ । “कोसीपूर्वका जिल्लाहरूमा भोलि बिहानसम्म वर्षा रोकिने र मध्याह्नदेखि मौसम खुल्ने,” उनले भनेका छन्, “यद्यपि, पहिरो र बाढीको जोखिम अझै कायम रहेकोले भोलिसम्म सजग हुनुपर्ला ।”

आइतबार (कात्तिक १६)देखि देशभरि जता पनि घुम्न जाने र धान काट्ने–भित्र्याउने तयारी गर्न सकिने उनले उल्लेख गरेका छन् । देशमा हाल बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव छ ।

मोन्था यति बेला भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले ‘मोन्था’का कारण उत्पन्न परिस्थितिबाट काठमाडौं उपत्यका अब सुरक्षित घेरामा रहेको विश्लेषण गरेका छन् ।

“मोन्था चक्रवातको प्रभाव क्षेत्र ट्र्याकिङ गर्दा काठमाडौं उपत्यका अब सुरक्षित घेरामा देखिन्छ र देशको पूर्वी भागमा भने यसको असर देखिन थालेको छ,” उनले फेसबुकमा लेखेका छन्, “पूर्वानुमान गरेको भन्दा भने कम असर गर्छ कि जस्तो देखिएको छ, जुन खुसीको कुरा हो ।”

Advertisement
Advertisement

उनले पनि काठमाडौंमा आज साँझसम्म मौसम सफा हुने सम्भावना बलियो रहेको जनाएका छन् । “मधेस प्रदेश र कोसी प्रदेशको केही भागमा मध्यम वर्षा हुँदै छ र जुन आज सक्रिय नै रहने देखिन्छ, । वाग्मती प्रदेशको उत्तरी भागमा पनि हल्का वर्षा हुँदै छ,” उनले लखेका छन्, “विराटनगर–इटहरी क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुँदै छ ।” पश्चिम नेपालमा भने वर्षाको सम्भावना कम हुँदै गएको उनले जनाएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top