३ मंसिर, काठमाण्डौ।
साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान यतिबेला अमेरिकामा छन् । उनी त्यहाँ रहेकैबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा सलमानको संलग्नतालाई खारेज गरेका छन् ।
सन २०१८ मा वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको साउदी अरेबियामा हत्या भएको थियो । पत्रकारको हत्यापछि युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष निकालेको थियो ।
अमेरिकी पत्रकार जमाल खशोग्गीको हत्या भएको लगभग सात वर्षपछि साउदी युवराज मोहम्मद बिन सलमानले ह्वाइट हाउसमा पहिलो पटक भ्रमण गरेका हुन् । पत्रकार जमाल खशोग्गीको २०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा साउदी सरकारका सदस्यहरूद्वारा हत्या गरिएको थियो ।
ट्रम्प प्रशासनको समयमा सीआईएले युवराजले हत्यालाई अनुमोदन गरेको हुनसक्ने निष्कर्ष निकालेको थियो । बाइडेन प्रशासनले पछि उक्त अवर्गीकृत प्रतिवेदन सार्वजनिक गरेको थियो ।
युवराज बिन सलमानले हत्यामा व्यक्तिगत संलग्नता अस्वीकार गरे पनि साउदी अरेबियाको नेताको रूपमा उनले घटनाको पूर्ण जिम्मेवारी लिने बताएका थिए । ट्रम्पसँगको भेटमा पत्रकारले खशोग्गीबारे सोध्दा युवराजले भने ‘यो सुन्नु साँच्चै पीडादायी छ । कसैले कुनै वास्तविक उद्देश्य बिना आफ्नो ज्यान गुमाएको छ।’
तर उनलाई पत्रकारको हत्यामा उनको संलग्नताबारे प्रश्न सोध्दा ट्रम् पभने पत्रकारसँग जंगिएका थिए । ट्रम्प मंगलबार साउदी राजकुमारलाई भव्य स्वागतपछि ह्वाइट हाउसमा उनीसहितको संयुक्त पत्रकार सम्मेलनका क्रममा एक पत्रकारको प्रश्नमा ट्रम्प जंगिएका हुन् ।
एबिसी न्युजकी एक पत्रकारले साउदी राजकुमार एमबिएसलाई वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्याबारे प्रश्न गरेकी थिइन् । उनले अमेरिकी गुप्तचरको रिपोर्टले पत्रकार खशोग्गीको हत्या गर्न साउदी राजकुमारले नै आदेश दिएको भनेर उल्लेख गरेको बताउँदै त्यसबारे प्रश्न गरेकी थिइन् ।
सँगै सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी हमला र साउदीको संगलग्नताबारे पनि चर्चा गरेकी थिइन् । ’तपाईंलाई अमेरिकाले किन विश्वास गर्ने?,’ उनले प्रश्न गरेकी थिइन् । प्रश्नपछि ट्रम्पले तत्कालै हस्तक्षेप गरेका थिए ।
उनले प्रश्न सोध्ने पत्रकारको परिचय मागे । पत्रकारले आफू एबिसी न्युजको प्रतिनिधि रहेको बताइन् । ’फेक न्युज। एबिसी फेक न्युज हो । तर त्यो प्रश्नको जबाफ म दिन्छु,’ ट्रम्पले भने । ’तपाईंले कुरा गरिरहनुभएको ती व्यक्तिलाई धेरैले मन पराउँदैनथे । तपाईंले उनलाई मन पराउनुहोस् वा नपराउनुहोस्, घटनाहरू हुन्छन्,’ उनले अगाडि भने ।
उनले आफ्नो पाहुनालाई त्यस्तो प्रश्न गरेर लज्जित नबनाउन पनि ती पत्रकारलाई चेतावनी दिए । ’त्यो घटनाबारे उहाँलाई केही थाहा थिएन। तपाईंले हाम्रो अतिथिलाई यस्तो प्रश्न गरेर लज्जित बनाउन पाउनुहुन्न,’ ट्रम्पले भने । त्यसपछि एमबिएसले ट्रम्पलाई रोक्दै आफू पनि त्यसको उत्तर दिने बताए ।
उनले ९÷११ को घटना दुःखद रहेको बताए । त्यसमा संलग्न ओसामा बिन लादेनले अमेरिका र साउदीको सम्बन्ध बिगार्नकै निम्ति त्यो हमला गरेको उनले बताए । ’९÷११ को घटना दुःखद हो। सिआएको प्रतिवेदनले पनि प्रष्ट भनेको छ कि ओसामा बिन लादेनले साउदी अरबका मानिसहरू प्रयोग गरी दुई देशको सम्बन्धमा दरार पैदा गर्नका लागि त्यो हमला गरेका थिए,’ उनले भने ।
पत्रकारको हत्या भएको विषय पनि दुःखद रहेको उनले बताए । अमेरिकी विदेश विभागको पछिल्लो प्रतिवेदनले साउदी अरेबियामा स्वेच्छाचारी हत्या, यातना, र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्धहरू रहेको उल्लेख गरेको छ ।
यसैबीच अमेरिकाले संसारको सबैभन्दा उन्नत लडाकु जेट मानिने एफ–३५ लडाकु विमान साउदी अरबलाई बेच्ने भएको छ । ट्रम्पले साउदी राजकुमारसँगको ह्वाइट हाउसको बैठकअघि पत्रकारहरूलाई यस्तो बताएका हुन् । ‘हामी एफ–३५ जेट बेच्नेछौं’, ट्रम्पले भने, ‘उनीहरू ठूलो सहयोगी भएका छन् ।’
यी दुई नेताहरूबीच रक्षा र नागरिक आणविक शक्तिसम्बन्धी सम्झौताहरूमा छलफल हुने बताइएको छ । पत्रकार जमाल खसोग्गीलाई सात वर्षअघि साउदी एजेन्टहरूको हातबाट मारेर टुक्राटुक्रा पारिएपछि साउदी नेताको अमेरिकामा यो पहिलो भ्रमण हो ।
राजकुमार मोहम्मदको अन्तिम भ्रमण सन् २०१८ मा ट्रम्पको पहिलो कार्यकालको समयमा भएको थियो । सोही वर्ष इस्तानबुलमा खशोग्गीको हत्या भएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनले अमेरिकामा राजकुमारलाई स्वागत गरेनन् ।
उनले सन् २०२२ मा अन्य मुद्दाहरूमा सम्झौता गर्न साउदी अरबको भ्रमण गरेका थिए । बाइडेनले उक्त बैठकमा खसोग्गीको हत्याको मुद्दा पनि उठाएको बताए ।यसैबीच ह्वाइट हाउस भेटघाटमा आज विश्व फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डो पनि उपस्थित हुनेछन् ।
एक अधिकारीले साउदी फुटबल क्लब अल–नासरका कप्तान क्रिस्टियानो रोनाल्डो पनि ह्वाइट हाउसमा उपस्थित हुने पुष्टि गरेका छन् । भेटवार्तामा ट्रम्पले साउदीका युवराजलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन दबाब पनि दिन सक्छन्, किनकि उनी गाजा युद्धपछि एक व्यापक मध्य पूर्व शान्ति सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन् ।
ट्रम्प र साउदी युवराजबीच यसअघि मे महिनामा रियादमा भेट भएको थियो । जहाँ साउदीलाई लगभग १४२ अर्ब डलरको हतियार बेच्न अमेरिका सहमत भएको थियो । जसलाई ह्वाइट हाउसले इतिहासको ’सबैभन्दा ठूलो रक्षा सम्झौता’ भनेको छ । साउदी अरेबिया अमेरिकी हतियारको सबैभन्दा ठूलो खरिदकर्ता हो ।










