१२ मंसिर, काठमाण्डौ ।
इन्डोनेसियाको राजधानी जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर बनेको छ। संयुक्त राष्ट्रसंघको नयाँ अध्ययन अनुसार जकार्ताले सूचीको शीर्ष स्थानमा आउँदै जापानी राजधानी टोकियोलाई पछि पारेको छ।
यस अध्ययनमा नयाँ मापदण्डको प्रयोग गर्दै सबैभन्दा बढी जनसंख्या भएका सहरहरूको सूची जारी गरिएको छ। यो सूचीमा भारतको राजधानी दिल्ली र कोलकाताको नाम पनि समावेश छ।
यूएन डिपार्टमेन्ट अफ इकोनमिक एण्ड सोसल अफेयर्सको ’वल्र्ड अर्बनाइजेशन प्रोस्पेक्ट–२०२५’ रिपोर्टमा बताइए अनुसार, जनसंख्या महाशाखाको अनुमान अनुशार इन्डोनेसियाको राजधानी जकार्तामा ४२ मिलियन मानिस बसोबास गर्छन्।
यो कुनै पनि अन्य सहरको तुलनामा सबैभन्दा ठूलो संख्या हो। सन् १९७० को दशकसम्म जकार्ता केही मिलियन जनसंख्या भएको सहर मात्र थियो। पछिल्ला वर्षहरूमा जकार्ताको जनसंख्या निकै तीव्र गतिमा बढेको छ।
जकार्ता पछि बंगलादेशको राजधानी ढाकामा सबैभन्दा बढी जनसंख्या छ। ढाकाको जनसंख्या ३७ मिलियन छ। तेस्रो नम्बरमा ३३ मिलियन जनसंख्याको साथ टोकियो रहेको छ।
यो संयुक्त राष्ट्रसंघको २०१८ को अघिल्लो रिपोर्ट भन्दा बिल्कुलै फरक छ। त्यस समयमा जापानी राजधानी टोकियोलाई सबैभन्दा बढी जनसंख्या भएको सहर मानिएको थियो।
जकार्ता, ढाका र टोकियो बाहेक शीर्ष–१० को सूचीमा भारतको राजधानी दिल्लीको जनसंख्या ३.०२ करोड, चिनियाँ सहर सांघाईको जनसंख्या २.९६ करोड, चिनियाँ सहर ग्वाङ्झाउमा २.७६ करोड, फिलिपिन्सको मनिलामा २.४७ करोड मानिसहरू बसोबास गर्छन्।
यसपछि भारतको कोलकातामा २.२५ करोड र दक्षिण कोरियाको सियोलमा २.२५ करोड जनसंख्या रहेको छ। विश्वका सबैभन्दा बढी जनसंख्या भएका सहरहरूमा एसियाको दबदबा छ।
युरोप र अरबको तुलनामा एसियाका सहरहरूमा धेरै जनसंख्या बसोबास गर्छन्। विश्वका ३३ महानगर मध्ये १९ वटा एसियामा छन्। त्यस्तै, सबैभन्दा बढी जनसंख्या भएका शीर्ष–१० सहरहरूको सूचीमा ९ वटा एसियाका छन्।
यी सहरहरू हुन्, जकार्ता, ढाका, टोकियो, नयाँ दिल्ली, सांघाई, ग्वाङ्झाउ, मनिला, कोलकाता र सियोल। शीर्ष–१० मा एसिया बाहिरको एक मात्र सहर कायरो हो। रिपोर्टका अनुसार, सन् १९५० पछि सहरमा बस्ने मानिसहरूको संख्या दोब्बरभन्दा बढी भएको छ।
सन् १९५० मा विश्वको २.५ अर्ब जनसंख्यामध्ये २० प्रतिशत सहरी मानिसहरू थिए। अहिले विश्वको ८.२ अर्ब जनसंख्यामध्ये करिब आधा हिस्सा सहरमा बसोबास गर्छ। सन् २०५० सम्म सहरहरूमा विश्वको दुई तिहाइ जनसंख्या हुने अनुमान छ। बाँकी एक तिहाइ हिस्सा साना सहर वा बस्तीहरूमा हुनेछ।










