१८ मंसिर , काठमाण्डौ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।
पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ । काठमान्डुले भने छ खेलबाट आठ अङ्क जोडेको छ । यस्तै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् ।
सुदूर १० अंकका साथ शीर्ष स्थानमा छ । सुदूर अपराजित एक मात्रै टिम हो । चितवन भने ५ खेलबाट ४ अंक जोडेर प्लेअफका लागि संर्घषरत छ । उसलाई पनि आजको खेल जित्नैपर्ने दबाब छ। यस्तै एनपीएलको गत संस्करण सबैभन्दा खराब नतिजासहित पुछारमा रहेर बाहिरिएको लुम्बिनी लयमा देखिएको छ ।
बुधबार भएको छैटौं खेलमा अंकतालिकामा टप हाफमा रहेको विराटनगर किङ्सविरुद्ध जित हासिल गर्दै लुम्बिनीले बीचमा गुमाएको लय फेरि समातेको संकेत दिएको छ । दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डुप्लेसीको आगमनपछि विराटनगरको टप अर्डर थप बलियो हुने आँकलन गरिएपनि लुम्बिनीसामू टप अर्डर चल्न सकेनन् ।
फलस्वरुप लुम्बिनीले विराटनगरलाई मध्यम योगफलमा रोकेर लक्ष्य पनि सहजै पूरा गर्दै तेस्रो जित हासिल ग¥यो । बुधबारको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
विराटनगरले पहिले ब्याटिङ गर्दा आजको खेलमा ओपनिङ जोडी परिवर्तन गरेको थियो । दक्षिण अफ्रिकी स्टार फाफ डुप्लेसीको आगमनपछि उनलाई जर्ज मन्सेसँग ओपनिङमा पठाइयो । यद्यपी ओपनिङ राम्रो भने हुन सकेन ।
मन्से शून्यमै आउट भए भने डुप्लेसी पनि २ चौकासहित १२ रन मात्र बनाएर आउट भए । त्यसपछि क्रिजमा रहेका लोकेश बम र अस्ट्रेलियन ब्याटर साम हिजलेटले संयमित ब्याटिङ गर्दै ५५ रनको साझेदारी बनाए ।
लोकेश ४२ बलमा ३५ रन बनाएर आउट भए भने हिजलेट २० बलमा २७ रन बनाएर आउट भए । त्यसपछि बसिर अहमदले १९ बलमा २८ रन बनाउनुबाहेक गतिलो फिनिसिङ हुन सकेन । विराटनगरले १४४ रनको योगफल खडा ग¥यो ।
लोकेश बमले खेलपछि आफ्नो ब्याटिङबाट खुसी नभएको प्रतिक्रिया दिएका थिए । ‘मैले राम्रो कन्भर्ट गर्न सकिनँ, अलि लामो खेल्नुपर्ने तर भएन’ उनले भने, ‘म खुसी छैन आफ्नो प्रदर्शनबाट, आउने खेलहरूमा राम्रो गर्ने प्रयास गर्नेछु।’
उनले टप अर्डरबाट राम्रो प्रदर्शन नभएको र २०–३० रन कम भएको उल्लेख गरे । लुम्बिनीका लागि शेर मल्लले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । त्यसमा ओपनर मन्सेसँगै साम हिजलेट र नारायण जोशीको विकेट सामेल थियो ।
उनी प्लेयर अफ द म्याच समेत बने । अभिशेष गौतमले फाफ डुप्लेसीलाई स्टम्प आउट भएका थिए । जवाफमा लुम्बिनीले सुरुवातदेखि नै संयमित ब्याटिङ गरिरहेको थियो । सुमित महर्जन १० रनमै आउट भएका थिए भने वान डाउनमा आएका कप्तान रोहित पौडेल शून्यमै आउट भए ।
अर्का ओपनर डार्शी शर्टले भने सुरुवातदेखि नै राम्रो ब्याटिङ गरिरहेका थिए । उनले म्याच विनिङ अर्धशतक बनाए । ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाए। अन्य खेलमा राम्रो सुरुवात पाएर पनि ठूलो बनाउन नसकेका शर्टले आज पनि धैयर्तापूर्ण ब्याटिङ गरेका थिए ।
यस्तै अघिल्लो खेलमा पनि क्यामिओ पारी खेलेका श्रीलंकन निरोशन डिक्वेलाले आज पनि अविजित २९ रन बनाए । सन्दीप जोराले २५ रन बनाए । लुम्बिनीले १४ बल अगावै लक्ष्य पूरा ग¥यो । जितपछि लुम्बिनीका खेलाडी सन्दीप जोराले पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ भएकाले जित सम्भव भएको बताए ।
फाफ डुप्लेसीलाई अनुबन्ध गरेदेखि नै विराटनगर चर्चामा थियो । उनी दुबईमा टी–१० लिग खेलेकाले सुरुवाती ५ खेलमा विराटनगरका लागि उपलब्ध थिएनन् । सोमबार नेपाल आइपुगेका डुप्लेसीले मंगलबार टिमसँग अभ्यास गरेर बुधबारको खेलमा खेलेका थिए ।
यद्यपी उनको ब्याट भने चल्न सकेन । ९ बलमा १२ रन मात्र बनाउन सके। फिल्डिङमा भने एक उत्कृष्ट क्याच लिएका थिए । लोकेशले आफ्ना लागि भने मार्टिन गप्टिल अझ ठूलो खेलाडी भएको समेत बताए ।
लुम्बिनी ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । विराटनगरको पनि ६ खेलमा ८ अंक छ । लुम्बिनीले अब जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ । लुम्बिनीले प्लेअफ पुग्न आफ्नो अन्तिम लिग खेलमा जनकपुरलाई हराउनुपर्नेछ भने पोखरा एभेन्जर्स र चितवन राइनोजले बाँकी एक–एक खेल हार्नुपर्नेछ ।
अब पोखरा र चितवन एक आपसमा खेल्न बाँकी रहेकोले यदी कुनै एक टिमले दुवै खेल जितेमा र लुम्बिनीले पनि अन्तिम खेल जितेमा ८ अंक पुग्नेछ यस्तोमा नेटरनरेट निर्णायक हुनेछ । यदि चितवन र पोखरा पराजित भएमा लुम्बिनीले शुक्रबार जनकपुरलाई हराएर ८ अंकसहित प्लेअफमा छनोट हुनेछ ।
विराटनगरले भने शीर्ष स्थानमा रहेको सुदूरपश्चिमसँग खेल्न बाँकी छ । उक्त खेल जिते स्वतः प्लेअफमा पुग्नेछ । पराजित भएपनि विराटनगर छनोट हुने समीकरण बन्न सक्छ ।










