१८ मंसिर , काठमाण्डौ ।
नेपालमा ८ वर्षअघिसम्म वर्षायाममा समेत दैनिक आठ÷नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुने कहालीलाग्दो अवस्था थियो । सर्वसाधारण नागरिकका लागि राति वा बिहानको असुविधाजनक समयमा मात्र ४ देखि ६ घण्टा बिजुली उपलब्ध हुन्थ्यो ।
जसले दैनिक जीवन कठिन बनाएको थियो । साना व्यवसाय र उद्योगहरूले जेनेरेटरसहितका वैकल्पिक उपाय खोज्नु पर्याे । यसको मार जनताले नै खेप्नु पर्याे । यसले उत्पादन क्षमता २५ देखि ८० प्रतिशतले घट्यो। यसले थप महँगीको मार खेप्नु पर्याै ।
तर अहिले देश विद्युत्मा आत्मनिर्भर बन्दै वर्षायाममा देशभित्र खपत गरि दैनिक सातसय मेगावट भन्दा बढि निर्यात गर्ने अवस्थामा पुगेकोछ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य भएको छ।
नेपालमा लोडसेडिङ भन्ने वित्तिकै मनमस्तिष्कबाटै कुलमान घिसिङको नाम अग्रपंक्तिमा आउँछ । नेपाली जनताले कुलमानलाई उज्यालो नेपालमा अभियान्ताका रुपमा लोडसेसेडिङक किलरमा रुपमा चिन्ने गर्दछन् ।
नेपालका लोडसेडिङ अन्त्य हुनुमा धेरै कारणहरु रहेका छन् । तर कुलमानको कुशल ब्यववस्थापकीय क्षमताका कारण नै नेपालले कहालिलाग्दो १८ घण्टासम्मको लोडसेडिङबाट मुक्ति पाएको घटना कसैबाट नलुकेको विषय हो ।
तर पनि केही राजनीतिक नेतृत्व नेपालमा कुलमानलाई लोडसेडिङ अन्त्य गर्ने कुशल प्रशासकको श्रेय दिन कन्जुस्याई गर्दै आएका छन् । अझ आगामी निर्वाचनका लागि कुलमानले उज्यालो नेपाल पार्टीको अभिभावकीय नेतृत्व लिएपछि त झन उनी आँखाको कसिंगर बनेका छन् ।
उज्यालो नेपाल पार्टीको घोषणा सभामा प्रमुख अतिथिका रुपमा बुधबार उपस्थित भएका कुलमानले विगतको लोडसेडिङ, जनताले आफ्ना लागि उठाएको आवाज, आफ्नो उज्यालो नेपाल बनाउने सपनासँगै जलस्रोतको अपार संभावनाको विषय उठाए ।
यसले राजनीतिक नेतृत्वहरुलाई झनै तरंगित बनाइदिएको छ । उज्यालो नेपाल पार्टीको घोषणा र कुलमानले दिएको अभिब्यक्तिप्रति लक्षित गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सार्वजनिक टिप्पणी गर्दै लोडसेडिङ अन्त्यको श्रेय केपी शर्मा ओलीलाई दिएका छन् ।
उनले नेपालको लोडसेडिङ हटाउन खास योजना बनाउनेले जस नपाएको गुनासो गरेका छन् । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको पहलमा बुधबार ‘उज्यालो नेपाल पार्टी’ घोषणा भएको प्रति लक्षित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमा लोडसेडिङ हटाएको जसको विषयमा कुरा उठाएका हुन् ।
उनले सामाजिक सञ्जालमा भने, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’ महासचिव पोखरेलले यसअघि नै नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमालेको भएको दाबी गरेका थिए ।
पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौंको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरणसभामा लोडसेडिङ हटाउने योजना एमालेको भएको बताएका थिए । उक्त सभामा पोखरेलले भनेका थिए, ‘केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो ।
नेपालको जलस्रोतमा देखिएका समस्याहरूलाई समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो । एमाले महासचिव मात्रै होइन एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आफ्नो योजनामा नै नेपालमा लोडसेडिङ अन्त्य भएको दाबी गर्दै आएका छन् ।
तर कुलमानलाई नेपाल विद्युत् प्राधिकरणबाट पहिलो पटक कार्यकाल सकिएपछि उनलाई नदोहोर्याउने भन्दै र दोस्रो पटक कार्यकालको ४ महिना बाँकीरहदै बर्हिगमन गराउने नेतृत्व भने ओलीले नै गरेका थिए ।
उनलाई लोडसेडिङ अनत्यको जस कुलमानले पाएको पटक्कै चित्त नबुझेको संकेत प्रतिनिधिसभाको बैठकमा नै ब्यक्त गरेका थिए । ओली सरकारकै उर्जा मन्त्री रहेका काग्रेस नेता दीपक खड्काले त झन नेपालको लोडसेडिङ कुलमानले नभई भारतले अन्त्य गरिदिएको भन्दै भारतलाई धन्यवाद दिएका थिए ।
मुलुकलाई १८ घण्टा लामो लोडसेडिङको कालरात्रिबाट मुक्त गर्दै टाट पल्टिन लागेको प्राधिकरणलाई नाफामा पुर्याएर कार्य सम्पादनमा अब्बल ठहरिएका कर्मठ कर्मचारीमाथि कारवाहीको तरबार उज्याउने सरकारको कदमलाई धेरैले विचौलिया र भ्रष्टाचारीको उक्साहटप्रेरित रहेको टिप्पणी गरेका छन् ।
कुलमानलाई नेपाल विद्युत् प्राधिकरणमा भित्र्याएपनि त्यसको जस आफूले नै लिने प्रयास तत्कालीन माओवादी अहिलेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि गरेका छन् ।
कुलमानलाई माओवादीमा भित्र्याउने प्रयास असफल भएपछि प्रचण्डले कुलमानले नभइ तत्कालीन समयमा आफू नेतृत्वको राजनीतिक नेतृत्वले नै लोडसेडिङ अन्त्य गरेको दाबी गरेका छन् । तर कुलमानका विषयमा उनले पटक पटक प्रशंसा भने गरेका छन् ।
एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले कांग्रेस नेता डा. रामशरण महतले आफूलाई कुलमानसँग चिनाएको भन्दै उनको प्रशंसा गरेका थिए , ‘मलाई कुलमानसँग चिनाएकै महतजीले हो, बरु उहाँलाई धन्यवाद भन्न चाहन्छु । उहाँले कुलमानजस्तो क्षमतावान मान्छेलाई गुमाउनु हुँदैन भनेपछि मैले लौ न त एकपटक चेक गरौ भनेर प्राधिकरणमा लगेको हुँ । उहाँ गएको दुई तीन महिनामै…तिहारको लक्ष्मी पूजाको दिन हो क्यारे…लोडसेडिङ पनि गयो’, प्रचण्डले भनेका छन् ।
कुलमान घिसिङले आफ्नो पदबाट ४ वर्षे सेवाअवधि सकिएपछि ०७७ भदौमा विदा लिने बेलामा पनि राजनीतिक दल र तत्कालीन ओली सरकार भित्र पनि उनलाई निरन्तरता दिने कि विदा गर्ने भन्ने विषयसँग जोडेर लोडसेडिङ अन्त्यको श्रेयको विषयमा ठूलै राजनीतिकरण भयो ।
तर ढिलो चाडो कुलमानलाई फेरि दोस्रो पटक विद्युत प्राधिकरणमा फर्काएर ल्याइयो । उनी आएपछि उनले विद्युत व्यापार विस्तार गर्दै भारतलाई इतिहासमै पहिलो पटक नेपालबाट विजुली बेच्ने स्थानमा पुर्याए, प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने संस्था बन्यो ।
कारण, कुलमानको भूमिका,व्यवस्थापन, मेहनत,नेतृत्वको भूमिका जसको, जे जस्तो भएपनि कुलमान प्राधिकरणमा फर्किएर आएपछि नै यो उलब्धि हासिल भएको हो ।










