कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

२० मंसिर ८२, शुक्रबार
Share this
786shares

१९ मंसिर, काठमाण्डौ ।

Advertisement

धरानको मेयर हुँदै देशकै नेतृत्व लिने योजनासहित श्रम संस्कृति पार्टी गठन गरेका धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो सबैभन्दा कट्टर प्रधान शत्रु मानेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री घिसिङले समग्र देशलाई उज्यालो बनाउन आफूले नेतृत्वमा आउन खोजेको बताइरहेका बेला हर्कले भने कुलमानलाई आफूलाई रोक्न प्रयोग गरिएको गम्भिर आरोप लगाएका छन् ।

Advertisement

कुलमान संरक्षक रहेको भनिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएदेखि नै कुलमानविरुद्ध बोल्दै आएका हर्कले पछिल्लो समय भने कुलमान एमसीसी परियोजनामा समेत जोडिएको ब्यक्ति रहेको भन्दै विदेशीको एजेन्ट रहेको गम्भिर आरोप लगाएका छन् ।

कुलमानले आफू मन्त्र्री नबन्ने भनेर मन्त्री बनेको र पार्टी नखोल्ने भने पनि पार्टी खोलेको भन्दै उनी हवाइजहाजको बोर्डिङपास मात्रै भएको टिप्पणी गरेका छन् । कुलमानलाई श्रम संस्कृति र आफ्ना लागि तगारो देखेका हर्कले कुलमानलाई हटाएर अघि बढ्ने बताएका छन् ।

Advertisement

आउँदो फागुनको प्रतिनिधिसभा चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी विदेशी तत्त्वले कुलमानलाई प्रयोग गरेको उनको दाबी छ । फेसबुक लाइभमा बोल्दै साम्पाङले नेपालमा काम गर्ने मान्छे सत्तामा नपुगुन् र देश दरिद्र भइराखोस् जनता गरिब भइरहनु भनेर नै कुलमानलाई अघि सार्दै षडयन्त्र भइराखेको हर्कले आरोप लगाएका छन् ।

उनले भनेका छन्, काम गर्ने मान्छे सत्तामा नपुगुन् र नेपाल देश दरिद्र भइहराखोस् भन्ने एकथरि र विदेशी इशारामा नाच्ने दुवै तत्त्वहरू सलबलाएका छन् । ती तत्त्वहरूले हर्क साम्पाङलाई रोक्नका लागि कुलमान भन्ने मान्छेलाई अघि सारेको देखिन्छ ।

आन्दोलनपछि तहसनहसको स्थितिमा विदेशी हस्तक्षेप हुन सक्छ भने पनि म यो देशलाई सम्हाल्न सक्छु भनेर साहस देखाउँदा जेन–जीले समर्थन गरेर माहौल बनाउनुभयो । मैले चाहेको भए त्यस बेला धेरै कुरा हुन सक्थ्यो । तर म ‘सुद्ध र बुद्ध मन’ ले लागेको, कसैको रगतमाथि टेकेर सत्ताको कुर्सीमा पुग्ने नियत छैन ।

कमिला र किराफट्याङ्ग्राको पनि माया गर्ने मान्छे हुँ । मैले त्यस्तो रक्तपात चाहिनँ । तर, त्यहाँ ठूलो माहौल सिर्जना भएपछि मलाई रोक्न छेक्न कुलमानलाई अघि ल्याइयो । उहाँलाई प्रधानमन्त्री बनाउने भनेर मिडिया ट्रायल गरियो । अहिले पनि त्यस्तै धृष्टता भइराखेको छ ।

हर्क सत्तामा नआओस् भनेर कुलमानजीलाई अघि सारिएको छ । उहाँ प्रयोग भइराख्नुभएको छ । हर्क आयो भने नेपालमा विदेशी चलखेल रोकिन्छ, उत्पादन हुन्छ, गरिबी निवारण हुन्छ, गरिब मान्छे नरहे कसलाई सानोतिनो प्रलोभनमा किनेर ¥याली गर्ने ? सबैको दोकान बन्द हुन्छ ।

अन्य धेरै कारणहरू छन्, जुन खुलाउन वाञ्छनीय ठान्दिनँ । त्यसैले जसरी पनि रोक्नुपर्छ भनेर (हाँसो) । यो देशमा दुई धारको राजनीति छ । यो देश बचाउ, माटो बचाउ स्वाभिमान बचाउ इज्जत बचाउ भन्ने एउटा हर्कवादी विचार । अर्को विचार चाहिँ विदेशी चलखेल, विदेशी सिद्धान्त, विदेशी ऋण लिएर व्यक्तिगत स्वार्थपूर्ति गर्न खोज्ने ।

कुलमानजी आफैँ पनि एमसीसी लगायत राष्ट्रघाती सन्धि–सम्झौतामा मुछिएको व्यक्ति हो । उहाँलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदै छ । बोर्डिङ पास भनेको यहाँबाट काठमाडौं जाँदा एउटा कार्ड दिइन्छ । त्यो कार्ड नदेखाई जान सकिँदैन (हाँसो) । त्यो कार्ड गन्तव्यसम्म पुगेपछि काम हुँदैन ।

(लामो हाँसो) कुलमानजीलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदै छ । मसित यसको प्रमाण छ । अहिले आएको एउटा पार्टी छ, जसमा उहाँको नाम जोडिएको छ । उहाँले त्यो मेरो पार्टी होइन भन्नुभएको थियो । हेर्दाखेरि लिस्टमा उहाँको नाम छैन । तर, उहाँले त्यो भन्नुभयो । अहिले घोषणा सभामा गएर उहाँ नै सबै थोक हो भनेर वक्तव्यबाजी गरिराख्नुभएको छ ।

यसले देखाउँछ या त उहाँ अन्योलमा हुनुहुन्छ या दोहोरो चरित्रको मान्छे हो । दोहोरो चरित्रको मान्छे खतरा रहस्यमयी हुन्छन् । यो कुरा सुन्दा कति उहाँलाई मन पराउने समर्थक मसित रिसाउन सक्नुहुन्छ, तर मलाई मतलब छैन । हर्क बोल्दा कसैलाई मन पर्दैन, तर एक साता, एक महिना बितेपछि सबैले बुझ्न थाल्छन् ।

अहिले जेन–जीलाई यो सरकार बनाएकोमा कति पछुतो भइरहेको छ । जाति समुदायको कुरा पनि आउला । तर, मैले जाति विशेषलाई दोषेको होइन । व्यक्तिलाई भनेको हो । हि इज बिङ युज्ड। मलाई सरकारमा जान्न भनेर उहाँले प्रष्टरुपमा भन्नुभएको थियो ।

त्यसले गर्दा मित्रहरू ह्वाट यु थिंक यु सुड स्पिक द सेम, ह्वाट यु स्पिक यु सुड डु द सेम । त्यो भयो भने मात्रै बोली र कर्ममा एकरूपता आउँछ । सत्यवादी मान्छेले मात्रै सही नेतृत्व दिन सक्छ । मलाई मन नपराउने मान्छेहरूले उहाँलाई अघि सारेर जेन–जीको आन्दोलनमा मेरो बाटो छेकियो, त्यसै गरी बाँसको भाटाको रूपमा मेरो यात्रामा आइराख्नुभएको छ ।

हाम्रो बाटो त्यसरी छेकिँदैन । बहुमत जसरी पनि ल्याउँछौँ । आइसकेको छ । हरेक मान्छेलाई श्रम संस्कृतिले छोइसकेको छ । तपार्ईं त्यसरी प्रयोग हुनुभयो भने हाम्रो श्रम संस्कृतिले साइड लगाउँछ वा नाघेर जान्छ । त्यो हुनुभन्दा पहिले बचेखुचेको छविलाई बचाएर मन्त्रीको काममा केन्द्रित हुनुपर्छ ।

यसअघि पनि सुनसरी र झापाको दमकमा भएको संस्कृति पार्टीको जनसभामा पनि हर्क कुलमानविरुद्ध खनिएका थिए । यता कुलमानले भने ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउने अभियानमा छन् ।

आज मात्रै गृहजिल्ला रामेछापको सुनापती गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशलाई उज्यालो बनाउने आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । मन्त्री घिसिङले नागरिकहरूलाई अहिलेको सरकारबाट धेरै आशा नराख्न सुझाव दिँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा जिम्मेवार निर्णय गर्न आग्रह गरे ।

उनैले सो निर्वाचनमा आफ्नो पार्टीलाई देशभरिबाट जिताएर आफूलाई देशको नेतृत्वमा पु¥याउन उनले आग्रह गरेका छन् । आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै घिसिङले अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताए ।

‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईँहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईँहरूलाई आग्रह गर्दछु’, उनले भनेका छन् ।

कुलमानले देशभरि नै बिजुलीको उज्यालो आफूले पु¥याएको समेत बताएका छन् । कुलमान नेतृत्वको भनिएको उज्यालो नेपाल दल र हर्क नेतृत्वको श्रम संस्कृति दलको लोकप्रियताको समानुपातिक मतको जनाधार एकै क्षेत्र समेत रहन् सक्ने आकलनमा कुलमानको सक्रियतापछि हर्क आत्तिएको विश्लेषण गरिएको छ ।

कुलमानले आगामी निर्वाचनमा प्रमुख दल बन्ने दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग चुनावी सहकार्यका लागि एकताको पहल गरिरहेपनि हर्कसँग चुनावी एकताबारे कुनै संवाद भएको छैन् । स्वयम हर्कले नै आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका छन् ।

तर कुलमान देशकै नेतृत्व गर्ने गरी सक्रिय भएपछि आत्तिएका हर्कले उनलाई देशी विदेशीको षड्यन्त्रमा फसेको आरोप लगाउँदै एजेन्टसम्मको संज्ञा दिएका छन् । उनले कुलमानविरुद्ध सार्वजनिक अभिब्यक्ति दिँदै विभिन्न आरोप लगाउँदै आफूसँग प्रमाण समेत रहेको दाबी कुनैपनि प्रमाण भने सार्वजनिक गरेका छैनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top