४ पुस , काठमाण्डौ ।
अमेरिकामा फेरि विमान दुर्घटनामा परेको छ । नर्थ क्यारोलाइना राज्यमा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । नर्थ क्यारोलाइना स्टेट हाइवे प्याट्रोलका अनुसार स्टेट्सभिल सहरबाट उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो ।
विमान मौसमका कारण पुन फर्किएर अवतरणको प्रयासमा रहँदा दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा पूर्व नास्कार रेसिङ चालक ग्रेग बिफल, उनकी पत्नी क्रिस्टिना तथा दुई सन्तान राइडर र एम्माको मृत्यु भएको परिवारका सदस्यहरूले पुष्टि गरेका छन् ।
परिवारले जारी गरेको संयुक्त विज्ञप्तिमा यो दुर्घटनाले परिवारमा अकल्पनिय र गहिरो पिडा दिएको उल्लेख गरिएको छ । ग्रेग बिफल र उनको परिवारसँगै विमानमा थप तीन जना यात्रु पनि सवार थिए ।
उनीहरू डेनिस डटन, उनका छोरा ज्याक डटन तथा ‘नास्कार’ समुदायका लामो समयदेखि सक्रिय सदस्य क्रेग वाड्सवर्थ रहेको परिवारको विज्ञप्तिमा उल्लेख छ । यी सबै यात्रुहरू सेस्ना सि ५५० मोडेलको निजी जेटमा सवार थिए ।
इरेडेल काउन्टीका प्रमुख सहायक शेरिफ बिल ह्याम्बीले दिएको जानकारी अनुसार बिमान दुर्घटना स्थानिय समय अनुसार बिहान करिब १०ः१५ बजे भएको हो । विमानले उडान भरेको केही समयमै समस्या आएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी दिइएको छ।
नर्थ क्यारोलाइना राज्यका गभर्नर जोस स्टाइनले यो घटनालाई ‘हृदयविदारक’ भन्दै छानविन गर्ने बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार नर्थ क्यारोलाइनाको स्टेट्सभिल क्षेत्रीय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहीबार बिहान दुर्घटनाग्रस्त भएको हो।
संघीय उड्यन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान सुरु गरेका छन् । ५५ वर्षीय बिफलले करिब २० वर्षको करियरमा १९ वटा कप सिरिज जितेका थिए। उनले २०२२ मा टलाडेगामा भएको गेइको ५०० पछि अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए ।
सन् २०२३ मा बिफल नास्कारका ७५ महान चालकको सूचीमा परेका थिए। दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ र रनवेमा रहेको भग्नावशेष हटाएपछि मात्रै पुनः सञ्चालन खुल्ने अधिकारीहरूले जनाएका छन् ।










