विराटनगर,असोज २०
प्रदेश नम्बर १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगितामा बिर्तामोड भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । बिर्तामोड भेट्रान क्लबले इटहरी भेट्रान क्लबलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पछि पार्दे विजयी सुरुवात गरेको हो ।
आजदेखि सिएमजी स्वास्थ्य क्लबको आयोजनामा विराटनगरको सहिद रंगशालामा सुरु भएको प्रतियोगितामा निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो ।
निर्धारित समयमा खेल बराबरी भएपछि ट्राइब्रेकरमा विर्तामोडले ३—२ गोल अन्तरमा इटहरी भेट्रान क्लब पराजित गरेको हो । नेपालकै सर्वाधिक राशि रहेको भेट्रान फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विराटनगरको आयोजक सिएमजी, हाटखोला भेट्रान क्लब, इटहरी भेट्रान क्लब,धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान, झापाको विर्तामोड भेट्रान, काँकडभिट्टा भेट्रान र दमकको पूर्वाञ्चल भेट्रानज क्लबको सहभागिता रहेको छ ।
२७ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छ । गतवर्ष यस प्रतियोगिताका विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए
। प्रतियोगितामा खेलाडीले व्यक्तिगत पुरस्कार म्यान अफ द सिरिज, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने छन् ।