५ पुष , काठमाण्डौ ।
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिक मद्दतमा वेलिंगटन फिनिक्सले निन्जा ए लिगमा सानदार जित हासिल गरेको छ । शनिबार भएको खेलमा वेलिंगटनले सिड्नी एफसीलाई ७–० को फराकिलो गोलअन्तरले हराएको हो ।
वेलिंगटनको जितमा साम्बाले ह्याट्रिक गरिन् । साम्बाले खेलको १३, ६९ र ८० मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक गरेकी हुन् । खेलको तेस्रो मिनेटमा नै वेलिंगटनले १–० को अग्रता बनाएको थियो ।
वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन् । साम्बाको गोलमा टोलीले अग्रता दोब्बर पारेको थियो । ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा साम्बाको टोलीले खेलमा ३–० को आरामदायी अग्रता बनाएको थियो ।
पहिलो हाफमा ३–० ले अग्रता बनाएको खेलमा वेलिंगटनले दोस्रो हाफमा ३ गोल थप्यो । खेलको ५४औँ मिनेटमा ग्रेस जेलीले व्यक्तीगत दोस्रो गोल गर्दा वेलिंग्टनले ४–० को अग्रता लियो ।
६९औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीले ५–० को फराकिलो अग्रता बनायो । ८०औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गर्दा वेलिगंटनले ६–० ले अघि रह्यो। खेलको ९० मिनेटमा सातौँ गोल थप्दै वेलिगंटनले ए लिगमा ७–० को सानदार जित दर्ता गरेको हो ।
यसअघि फ्रान्समा व्यावसायिक लिग खेलेकी साम्बा यो सिजन वेलिंग्टनमा आबद्ध भएकी हुन् । यता सावित्राको अनुपस्थितिमा नेपाल एपिएफ क्लबले भारतको इस्ट बङ्गाल क्लबसंग उपाधि भीडन्त गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको फाइनल खेल हुँदैछ । जसमा यी दुई टोली भिड्न लागेका हुन् । राउन्ड रोविन प्रतिस्पर्धापछि सहभागी अन्य तीन टोलीलाई पछाडि पार्दै यी दुईले फाइनलमा स्थान बनाएका हुन् ।
अब एपिएफसँग शनिबार इतिहास रच्ने अवसर छ । साफ च्याम्पियनसिपले सातौं संस्करण पार गर्दा नेपाल ६ पटक उपविजेतामा सीमित हुनुपरेको छ । भारतले मात्र नेपाललाई चार पटक फाइनलमा हराएको छ ।
इस्ट बङ्गाललाई हराउन सके नेपाली महिला फुटबलमा एपिएफको उपलब्धि सुनौलो अक्षरमा लेखिने छ । यो जित एसियन कपमा पुग्न नसकेको पीडामा मलम हुनेछ । यसका लागि एपिएफसँग घरेलु समर्थकको साथ रहनेछ ।










