×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

२६ चैत्र २०८२

२६ चैत , काठमाण्डौ।

अमेरिका र इरानबीचको दुई हप्ते नाजुक युद्धविरामको भविष्य एक दिन नबित्दै झन् अनिश्चित बन्दै गएको छ, जहाँ वाशिङ्टन र तेहरानले सहमतिको विषयमा फरक–फरक धारणा प्रस्तुत गरेका छन् भने इजरेलले लेबनानमाथि आक्रमण जारी राखेको छ। यो युद्धविरामको अन्तिम समयमा मध्यस्थता गरेको इरान र पाकिस्तान दुवैले लेबनान पनि यसमा समावेश रहेको बताएका छन्।

Advertisement

तर इजरायलका प्रधानमन्त्रीबेन्जामेन नेतन्याहुले यसमा असहमति जनाएका छन्। त्यसपछि इजरायली सेनाले लेबनानमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गर्दै १०० भन्दा बढी स्थानमा प्रहार गरेको छ, जसमा कम्तीमा २५४ जनाको मृत्यु भएको र १,१६५ जना घाइते भएका छन्। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्तले यसलाई भयानक भन्दै अन्तर्राष्ट्रिय समुदायलाई यो दुःस्वप्न अन्त्य गर्न आग्रह गरेका छन्।

संयुक्त राज्य अमेरिकाले पनि लेबनान युद्धविरामको भाग नभएको स्पष्ट पारेको छ। इरानको आइआरजीसी इस्लामिक रिसनरी गार्डले लेबनानमाथि आक्रमण नरोकिए पछुतो हुने प्रतिक्रिया” दिने चेतावनी दिएको छ, जसमा अमेरिका र इजरायललाई वाचा तोड्ने भन्दै लक्षित गरिएको छ। यसले युद्धविराम कुनैपनि समय भंग हुने त्रास फैलिएको छ।

उता रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्यको अवस्थाबारे पनि विरोधाभासी जानकारी आएको छ। वाशिङ्टनले उक्त मार्ग खुला रहेको र जहाजहरूको आवतजावत बढिरहेको बताएको छ, साथै ट्रम्पले यो मार्ग अवरोधबिना खुला रहने अपेक्षा व्यक्त गरेका छन्। तर तेहरानले भने उक्त मार्ग अझै बन्द रहेको र अनुमति बिना प्रवेश गर्ने जहाजहरूलाई निशाना बनाई नष्ट गरिने चेतावनी दिएको छ।

इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै आक्रमण जारी राखेपछि इरानले प्रतिकारस्वरूप होर्मुज क्षेत्रमा जल यातायात रोकेको बताइएको छ। इरानका संसद् सभामुखले युद्धविरामका तीन महत्वपूर्ण प्रावधानहरू स्पष्ट र खुला रूपमा उल्लङ्घन भइसकेको बताएका छन्, जसमा लेबनानसम्बन्धी युद्धविराम पनि समावेश रहेको उनले जनाएका छन्।

उनले यस्तो अवस्थामा प्रस्तावित वार्तालाई अतार्किक भन्दै अस्वीकार गरेका छन्। साथै उनले इरानी हवाई क्षेत्रमा अतिक्रमण भएको र इरानको आणविक समृद्धिको अधिकार अस्वीकार गरिएको पनि बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै अमेरिका प्रति इरानको गहिरो ऐतिहासिक अविश्वास बारम्बार गरिएका प्रतिबद्धता उल्लङ्घनकै कारण रहेको बताएका छन्।

यसै सन्दर्भमा इरानका विदेशमन्त्रीले पनि अमेरिकाले इजरायलमार्फत युद्ध जारी राख्ने कि युद्धविराम अपनाउने भन्ने स्पष्ट निर्णय गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, “इरान–अमेरिका युद्धविरामका सर्तहरू स्पष्ट छन् अमेरिकाले एक विकल्प रोज्नुपर्छ, युद्धविराम वा इजरायलमार्फत निरन्तर युद्ध। दुवै सम्भव छैन। लेबनानमा भइरहेको नरसंहार विश्वले देखिरहेको छ, अब निर्णय अमेरिकाको हातमा छ।”

उता ह्वाइट हाउसले भने लेबनान युद्धविराम सम्झौतामा समावेश नभएको स्पष्ट पारेको छ। ह्वाइट हाउसकी प्रेस सचिवले यो कुरा सबै पक्षलाई जानकारी गराइएको दाबी गरेकी छन्। अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले पनि बुडापेस्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिका लेबनानलाई युद्धविराममा समावेश गर्ने वाचा नगरेको बताएका छन्।

उनका अनुसार इरानले गलत बुझाइका कारण त्यस्तो ठानेको हुन सक्छ। प्रेस सचिव लेविटले इरानले प्रस्ताव गरेको १० बुँदे योजनामा काम गरिरहेको भन्ने समाचारलाई पनि अस्वीकार गरेकी छन्। उनले उक्त योजना ट्रम्पले सिधै फोहोरमा फालिदिएको दाबी गरेकी छन्, यद्यपि ट्रम्पले यसअघि उक्त प्रस्तावलाई वार्ताका लागि उपयुक्त आधार भनेका थिए।

लेविटका अनुसार इरानले पछि अझ व्यावहारिक र संक्षिप्त प्रस्ताव प्रस्तुत गरेको थियो।  उनले ट्रम्पले कहिल्यै इरानको चाहना सूची स्वीकार नगर्ने र समृद्ध युरेनियम सम्बन्धी आफ्नो अडान नबदलेको पनि स्पष्ट पारिन्। इजरायलका प्रधानमन्त्री नेतन्याहुले ले टेलिभिजन सम्बोधनमार्फत इजरायल जुनसुकै बेला पुनः युद्धमा फर्किन तयार रहेको बताएका छन्।

उनले लेबनानमा आधारित हिजबुल्लाहविरुद्धको अभियान जारी रहने र युद्धविरामले उक्त समूहलाई समेट्दैन भन्ने दोहोर्याएका छन्। उनले इरानको आणविक सामग्री हटाउने प्रतिबद्धता पनि जनाएका छन् चाहे युद्ध जितेर होस् वा सम्झौतामार्फत। यी सबै फरक–फरक दाबी र विवादबीच भान्स को नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल शनिबार इस्लामाबादमा शान्ति वार्ताका लागि जाने तयारीमा रहेको छ।

उक्त टोलीमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेडपनि सहभागी हुने जनाइएको छ। अर्काेतर्फ अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरान अब अमेरिकाका लागि खतरा नरहेको घोषणा गरेका छन्। पछिल्लो ४७ वर्षदेखि अमेरिकालाई चुनौती दिँदै आएको इरानले अन्ततः ‘युद्ध विरामको भिख मागेको’ दाबी गर्दै उनले अमेरिकी सेनाले ऐतिहासिक जित हात पारेको बताएका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री हेगसेथले विश्व शान्तिका लागि आजको दिन निकै ठुलो भएको बताउँदै इरानको सैन्य क्षमता आगामी कैयौँ वर्षका लागि काम नलाग्ने गरी ध्वस्त बनाइएको जिकिर गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै हेगसेथले यो ऐतिहासिक क्षण ट्रम्पकै कारण सम्भव भएको बताए ।

अपरेसन एपिक प्युरी लाई ऐतिहासिक र जबर्जस्त कारबाहीको संज्ञा दिँदै उनले अमेरिकी सेनाले इरानको सैन्य शक्तिलाई पूर्ण रूपमा सखाप पारेको दाबी गरे। उनका अनुसार अमेरिकाले इरानको नौसेना र वायुसेनालाई आफ्नो सैन्य लक्ष्यअनुसार नै निमिट्यान्न पारेको छ र अहिले इरानको आकाशमा अमेरिकाको नियन्त्रण छ ।

इरानले अत्यधिक दबाब झेल्न नसकेर युद्ध विराम स्वीकार गरेको हेगसेथको भनाइ छ। यदि वासिङ्टनको सर्त नमानेको भए इरानका ऊर्जा केन्द्र, पुल र तेल तथा ऊर्जा पूर्वाधारहरू अमेरिकाको अर्को निसानामा पर्ने उनले चेतावनी दिए। ट्रम्पसँग इरानको सम्पूर्ण अर्थतन्त्र केही मिनेटमै ध्वस्त पार्न सक्ने शक्ति भए पनि उनले ‘दया देखाएर’ त्यसो नगरेको रक्षामन्त्री हेगसेथले दाबी गरे।

पूर्वाधार ध्वस्त भएको भए इरानलाई पुनर्निर्माण गर्न दशौँ वर्ष लाग्ने र त्यो कुरा इरानको नेतृत्वले बुझेर नै सम्झौता गर्नु उपयुक्त ठानेको उनले बताए । युद्धको सुरुवातमा मारिएका तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित अमेरिका र इजरायलको सैन्य अभियानमा थुप्रै उच्च इरानी अधिकारीहरू मारिएको उनले पुष्टि गरे।

अहिले इरानको नेतृत्वमा नयाँ अनुहारहरू आएको र उनीहरूले अमेरिकासँग वार्ता गर्नुको अर्थ बुझेर नयाँ हिसाबकिताब गरिरहेको हेगसेथले बताए। इरानले आणविक हतियार राख्न नपाउने कुरामा अमेरिका सुरुदेखि नै प्रस्ट रहेको भन्दै उनले इरानले आफूसँग भएको प्रशोधित युरेनियम स्वेच्छाले सुम्पिनुपर्ने बताए।

त्यसो नगरे अमेरिकाले सन् २०२५ मा इजरायलसँग मिलेर इरानका आणविक केन्द्रहरूमा गरेको ‘मिडनाइट ह्यामर’ जस्तै अर्को कारबाही गर्ने चेतावनी उनले दिए । पश्चिम एसियामा अमेरिकी सेनाको उपस्थितिबारे सोधिएको प्रश्नमा हेगसेथले अमेरिकी सेना कहीँ पनि नजाने प्रस्ट पारे।

युद्ध विरामको सर्त इरानले पालना गरे÷नगरेको सुनिश्चित गर्न र इरानलाई सम्झौताको टेबलमा ल्याउन अमेरिकी सेना त्यहीँ तैनाथ रहने उनले बताए । सेना सतर्क अवस्थामा रहने र आवश्यक परे जुनसुकै बेला पुनः आक्रमण सुरु गर्न तयार रहेको उनको भनाइ छ।

युद्ध विरामको सर्तअनुसार नै इरानले हर्मुज जलडमरुमा पानीजहाजहरू निर्बाध रूपमा आवतजावत गर्न दिने उनले स्पष्ट पारे । सम्बोधनका क्रममा हेगसेथले इजरायललाई अमेरिकाको बहादुर, इच्छुक र सक्षम सहयोगीको संज्ञा दिए। उनले विश्वका अन्य ‘तथाकथित’ अमेरिकी सहयोगी राष्ट्रहरूले इजरायलबाट केही कुरा सिक्नुपर्ने व्यङ्ग्यात्मक टिप्पणी समेत गरे ।

Advertisement

आफ्नो मन्त्रालयले अहिलेको लागि आफ्नो काम पूरा गरेको तर इरानले हरेक सर्त मानेको सुनिश्चित गर्न अमेरिका सधैँ तयार रहने उनले बताए ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top