२६ चैत , काठमाण्डौ।
हिजोदेखि प्रतिकुल बनेको मौसमका कारण आजपनि देशका विभिन्न स्थानमा विहानैदेखि हावाहुरीसहित वर्षात र हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ ।
कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने तथा तराई भेगमा मुख्यतया मौसम सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । विभागका अनुसार, देशका केही स्थानमा अहिले पानी परिरहेको छ । हाल कोसी प्रदेशका केही स्थानहरूमा तथा मधेस र वाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका बाँकी पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । चट्याङसहित वर्षा गराउने यो प्रणाली कोसी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ लगायतका पूर्वी भूभागतर्फ सर्दै गएको विभागले जनाएको छ ।
“चट्याङसहित वर्षा गराउने यो प्रणाली कोसी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ लगायतका पूर्वी भूभागतर्फ सर्दै गएकोले सतर्क रहनुहोला,“ विभागले भनेको छ । वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

